Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


गत ३ महिनामा ३२ सय ९६ विपदमा घटना, १६० जनाको निधन

४ हजार ३ सय ७५ परिवार प्रभावित

13
Shares

काठमाडौं । राट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत ३ महिनामा देशैभर विपद्का ३ हजार २ सय ९६ घटना भएकाे बताएकाे छ।

प्राधिकरणले घटनामा परी १ सय ६० जनाको मृत्यु भएकाे जनाएकाे हाे। प्राधिकरणले गत वैशाख १ देखि असार ३२ गतेसम्मका विपद्का घटनामा दुई जना बेपत्ता र ९ सय ४५ जना घाइते भएकाे समेत जानकारी दिएकाे छ । यस अवधिमा ४ हजार ३ सय ७५ परिवार प्रभावित भएका छन् ।

प्राधिकरणले सबै भन्दा बढी ८ सय ९७ आगलागीका घटना भएकाे र जसमा १७ जनाको मृत्यु, १ सय ९ जना घाइते र ९ सय ९० परिवार प्रभावित भएकाे जनाएको हाे । उक्त अवधिमा सर्पदंशका ५ सय १४ घटना भएका त्यसबाट ३८ जनाको मृत्यु, ४ सय ७९ जना घाइते र ५ सय १७ परिवार प्रभावित भएका छन् ।

त्यसैगरी, हुरीका ४ सय ७७ घटनामा १३ जनाको मृत्यु, ६८ जना घाइते र एक हजार ३ सय ५६ परिवार प्रभावित भएका जनाइएको छ । पहिरोका ४ सय ३३ घटनामा १२ जनाको मृत्यु, १५ जना घाइते र ३ सय ५१ परिवार प्रभावित भएका हुन् ।

चट्याङका २ सय २३ घटनामा २४ जनाको मृत्यु, १ सय २० जना घाइते र २ सय ६२ परिवार प्रभावित भएका छन् । प्राधिकरणले सार्वजनिक गरेको विवरणमा वन्यजन्तुको आक्रमणका १ सय ८१ घटनामा १७ जनाको मृत्यु, १ सय ३ जना घाइते र २ सय ८७ परिवार प्रभावित भएका उल्लेख गरिएकाे हाे।

त्यसैगरी, बाढीका १ सय ६१ घटनामा ९ जनाको मृत्यु, दुई जना बेपत्ता, नौ जना घाइते र ३ सय ९६ परिवार प्रभावित भएका छन् । भारी वर्षाका १ सय ५३ घटनामा चार जनाको मृत्यु, एक जना घाइते र १ सय ३२ परिवार प्रभावित भएका हुन् ।

त्यसैगरी, लेक लागेका ५५ घटनामा २१ जनाको मृत्यु र ३५ जना अझै अस्वस्थ छन् । ढुङ्गा खसेर भएको एक घटनामा दुई जनाको ज्यान गएको हाे । प्राधिकरणले तीन महिनामा वन डढेलोका १ सय ९१ घटना भएका, त्यसमा एक जनाको मृत्यु र दुई जना घाइते भएका जनाएको छ ।

हिउँपहिरोका दुई घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका हुन् ।