एजेन्सी । इरानले अमेरिकी हवाई आक्रमणमा परी ३० जना भन्दा बढी आफ्ना नागरिकको मृत्यु भएको जनाएको छ ।
इरानी सरकारकी प्रवक्ता फातेमेह मोहाजेरानीले बुधबार रातभर भएका आक्रमणहरूमा २ सय ६० जना भन्दा बढी व्यक्ति घाइते भएको बताउनुभएकाे हाे । अमेरिकाले इरानी बन्दरगाहहरूमा पुनः नौसैनिक नाकाबन्दी लागू गरेको छ । बुधबार सात घण्टा लामो हवाई अभियान सञ्चालन गर्दै इरानका दर्जनौं सैन्य लक्ष्यहरूमा आक्रमण गरेको जनाएको हाे ।
पछिल्ला दिनहरूमा जारी आक्रमणहरूले यसअघि नै नाजुक अवस्थामा रहेको युद्धविरामलाई थप कमजोर बनाएको विश्लेषण गरिएको छ । अमेरिकी सेन्ट्रल कमाण्डका कमाण्डर तथा अमेरिकी नौसेनाका एडमिरल ब्राड कुपरले इरानले छिमेकी अरब मुलुकहरूतर्फ दर्जनौं मिसाइल र ड्रोन प्रहार गरेको दावी गर्नुभयाे । नौसेनाका कुपरले एक विज्ञप्तिमा जारी गर्दै अमेरिकी बलहरूले निर्दोष नागरिकको जीवनलाई निरन्तर जोखिममा पार्ने इरानको आक्रामक गतिविधिप्रति जवाफदेहिता सुनिश्चित गरिरहेको बताउनुभएकाे छ।
अमेरिका र इजरायलले गत फेब्रुअरी २८ तारिखमा इरानविरुद्ध सैन्य कारबाही शुरु गरेपछि इरानले हर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने व्यापारिक जहाजहरूलाई लक्षित गर्दै आक्रमण र धम्की दिएको थियो । त्यसपछि विश्वकै महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक मानिने यस जलमार्गमा जहाज आवागमन गम्भीर रूपमा प्रभावित भएको थियो । यसका कारण विश्वव्यापी रूपमा तेल, रासायनिक मल तथा अन्य वस्तुको मूल्यमा परेको थियो ।
हालैका हप्ताहरूमा इरानले ओमाननजिक अमेरिकी निगरानीमा सञ्चालन भइरहेका समुद्री मार्ग प्रयोग गर्ने केही जहाजहरूलाई पनि निसाना बनाएको आरोप लगाएको छ । वासिङ्टनले आवश्यक परे बल प्रयोग गरेर हर्मुज जलडमरूमध्ये पुनः खुला गराउने चेतावनी दिएको हाे ।
यद्यपि, सुरक्षा विश्लेषकहरूले जलमार्ग पूर्ण रूपमा सुरक्षित राख्न ठूलो संख्यामा स्थल सेना आवश्यक नपरे पनि व्यापक नौसैनिक उपस्थिति भने अपरिहार्य हुने बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्