काठमाडौं । ब्राजिलमा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित हुनुभएको छ। दोस्रो चरणको निर्वाचनमा लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गर्दै प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोलाई पराजित गर्नुभएको हो। बोल्सोनारोले ४८.२४ प्रतिशत मत प्राप्त गर्नुभयो।
निर्वाचनको पहिलो चरणमा पछि पर्नुभएका लुलाले दोस्रो चरणमा नतिजा उल्ट्याउँदै जित हासिल गर्नुभएको हो। सन् १९८५ मा सैन्य शासन अन्त्य भई लोकतन्त्र पुनःस्थापनाको प्रक्रिया सुरु भएयता पहिलो चरणमा दोस्रो स्थानमा रहेका उम्मेदवारले दोस्रो चरणमा राष्ट्रपति निर्वाचन जितेको यो पहिलो घटना हो।
निकै प्रतिस्पर्धात्मक बनेको निर्वाचनमा लुलाको जितलाई ब्राजिलको राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ। ल्याटिन अमेरिकाका केही देशमा दक्षिणपन्थी राजनीतिक शक्तिको प्रभाव बढिरहेका बेला वामपन्थी नेता लुलाको पुनर्निर्वाचनले क्षेत्रीय राजनीतिक प्रवृत्तिबारे नयाँ बहस सिर्जना गरेको छ।
निर्वाचन परिणाम सार्वजनिक हुनुअघि बोल्सोनारो पक्षले मतदान प्रक्रियाबारे प्रश्न उठाएको थियो। फ्लाभियो बोल्सोनारो जेलमा रहेका ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा हुनुहुन्छ। उहाँलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन रहेको थियो।
चौथो कार्यकालका लागि निर्वाचित लुलाले अब आगामी कार्यकालमा देशको आर्थिक अवस्था, सामाजिक नीति र राजनीतिक ध्रुवीकरणजस्ता चुनौतीको सामना गर्नुपर्नेछ।










प्रतिक्रिया दिनुहोस्