Logo ८ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026


अउडीले अमेरिकामा पहिलो कारखाना खोल्न ४ दशमलव २ अर्ब डलर लगानी गर्ने


0
Shares

एजेन्सी । जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो कारखाना निर्माण गर्न चार दशमलव दुई अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। उक्त कारखानाबाट वार्षिक दुई लाख सवारीसाधन उत्पादन हुनेछन्।

अउडीले विज्ञप्तिमार्फत लगानीको पुष्टि गर्दै प्रस्तावित कारखानाबाट करिब चार हजार ५०० रोजगारी सिर्जना हुने जनाएको छ।अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनभन्दा १० दिनअघि आयोजित चुनावी सभामा ट्रम्पले शनिबार जर्जिया राज्यमा अटोमोबाइल उत्पादन क्षेत्रमा ठूलो लगानीको घोषणा गर्न पाउँदा उत्साहित भएको बताए।

उनले जर्जियाको मेकोन सहरनजिकै अउडीले चार दशमलव दुई अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै अर्को महिनादेखि कारखाना निर्माण सुरु हुने र त्यहाँबाट वार्षिक दुई लाख कार उत्पादन हुने बताए।

यद्यपि, फोक्सवागन समूहको एक हिस्सा रहेको अउडीले जारी गरेको विज्ञप्तिअनुसार कारखानाको निर्माण आगामी वर्ष सुरु हुनेछ भने उत्पादन सन् २०३० को दशकको सुरुतिर थालिनेछ।

कम्पनीले यो लगानीले अमेरिकासँगको दीर्घकालीन प्रतिबद्धता दर्शाउने जनाएको छ। साथै, युरोप र चीनपछि उत्तर अमेरिकालाई आफ्नो विश्वव्यापी उत्पादन सञ्जालको तेस्रो प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

जर्मन अटो उद्योगको प्रमुख कम्पनी फोक्सवागन समूहले अमेरिकी भन्सार शुल्क, चिनियाँ उत्पादकसँगको प्रतिस्पर्धा र युरोपमा अस्थिर मागलगायत चुनौतीको सामना गरिरहेको छ।

फोक्सवागन समूहअन्तर्गतका १० ब्रान्डमा, विशेषगरी फोक्सवागन, अउडी र पोर्शमा, करिब ५० हजार रोजगारी कटौती गर्ने सहमति भइसकेको छ। लागत घटाउन विश्वभर थप ५० हजार रोजगारी कटौती गर्नुपर्ने अवस्था आउन सक्ने कम्पनीले जनाएको छ।

Skip This