एजेन्सी । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको छ ।
नाग्छु शहरअन्तर्गत बाछेन काउन्टीमा गएको भूकम्पबाट प्रभावित क्षेत्रमा भग्नावशेषमा फसेका मानिसको खोजी गर्न अग्नि नियन्त्रक तथा उद्धारकर्मीले तालिमप्राप्त कुकुरसहित खोजी गरिरहेका छन् । स्थानीय अधिकारीहरूका अनुसार शुक्रवारसम्म भूकम्पमा परी १६ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन् ।
भूकम्प प्रभावित गाउँहरूमा उद्धार टोलीले तीन चरणमा खोजी कार्य पूरा गरिसकेको छ । उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको अधिकारीहरूले बताएका छन् । भूकम्प प्रभावित क्षेत्रबाट १२ हजारभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
विस्थापित नागरिकलाई आश्रय दिन अस्थायी शिविर निर्माण गरिँदै छ भने चिसो मौसमबाट जोगाउन आवश्यक राहत सामग्रीसमेत वितरण भइरहेको छ । स्थानीय समयअनुसार बिहीवार राति १० बजेर ३३ मिनेटमा बाछेन काउन्टीमा भूकम्प गएको थियो । भूकम्पबाट प्रभावित क्षेत्रमा सम्भावित जोखिममा रहेका नागरिकको खोजी, घाइतेको उपचार तथा विस्थापितलाई आवश्यक सहायता उपलब्ध गराउने काम भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्