काठमाडाैं । मिस सु-प्रानेशनल नेपाल २०२६ पूर्णिमा कार्की विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न जुलाई १३ मा पोल्याण्डको क्राकाउ (Kraków) प्रस्थान गरेकी छन्।
प्रतियोगिता पोल्याण्डको मालोपोल्स्का (Małopolska) क्षेत्रमा आयोजना हुँदैछ भने यसको भव्य फाइनल जुलाई ३१ मा हुनेछ।पूर्णिमा कार्की कानुन स्नातक (Law Graduate) हुन्।
उनी सौन्दर्य प्रतियोगिताकी विजेता मात्र नभई शिक्षा, महिला सशक्तीकरण, सामाजिक उत्तरदायित्व तथा नेपालको संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय युवा व्यक्तित्वका रूपमा परिचित छिन्।
मिस सुप्रानेशनल नेपाल २०२६ को उपाधि जितेसँगै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान, संस्कृति र नेपाली महिलाको क्षमता विश्वसामु प्रस्तुत गर्ने अवसर प्राप्त गरेकी छन्।
प्रतियोगिताको अवधिभर पूर्णिमाले राष्ट्रिय पोशाक (National Costume), सुप्रा च्याट, प्रारम्भिक मूल्याङ्कन तथा विभिन्न प्रतिस्पर्धात्मक चरणहरूमा सहभागिता जनाउँदै नेपालको प्रतिनिधित्व गर्नेछिन्। उनले नेपालको सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा र नेपाली महिलाको आत्मविश्वासलाई विश्वमञ्चमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
प्रस्थानअघि पूर्णिमाले आफ्नो यो यात्रा व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण नेपालीहरूको साझा सपना र राष्ट्रिय गौरवको विषय भएको बताइन्। “नेपालको झण्डा बोकेर विश्वमञ्चमा उभिन पाउनु मेरो लागि ठूलो सम्मान र जिम्मेवारी हो। यो मेरो मात्र यात्रा होइन, सम्पूर्ण नेपालीहरूको यात्रा हो। म आफ्नो सम्पूर्ण क्षमता र समर्पणका साथ नेपाललाई उत्कृष्ट रूपमा चिनाउने प्रयास गर्नेछु,” उनले भनिन्।
यसैबीच, मिस सुप्रानेशनल नेपालका नेशनल डाइरेक्टर तथा सानुर्भी इन्टरनेशनल प्रा.लि.का अध्यक्ष डा. सन्तोष उपाध्याय ले यस वर्ष नेपालले मिस सुप्रानेशनलको इतिहासमै उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
“यस वर्ष हामी मिस सुप्रानेशनलमा नेपालको अहिलेसम्मकै उत्कृष्ट नतिजा ल्याउनेमा विश्वस्त छौं। पूर्णिमा कार्कीमा मिस सुप्रानेशनलले खोज्ने व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, बौद्धिकता, सामाजिक उत्तरदायित्व र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली प्रस्तुति दिने सम्पूर्ण गुणहरू छन्। उनी केवल सुन्दरी मात्र होइनन्, एक सक्षम, शिक्षित र प्रेरणादायी प्रतिनिधि हुन्,” डा. उपाध्यायले बताए।
डा. उपाध्याय स्वयं अन्तर्राष्ट्रिय पेजेन्ट क्षेत्रमा नेपालको सफल प्रतिनिधित्व गरिसकेका व्यक्तित्व हुन्। उनले मिस्टर सुप्रानेशनल २०२१ मा नेपालको प्रतिनिधित्व गर्दै थर्ड रनर-अप बन्न सफल भएका थिए, जुन हालसम्म नेपालको उत्कृष्ट अन्तर्राष्ट्रिय उपलब्धिमध्ये एक मानिन्छ। सोही अनुभवका आधारमा उनले पूर्णिमा कार्कीको तयारी, प्रशिक्षण र सम्पूर्ण अन्तर्राष्ट्रिय अभियानको नेतृत्व गरिरहेका छन्।
उनले मिस सुप्रानेशनल २०२६ लाई नेपालको संस्कृति, पर्यटन, प्रतिभा र राष्ट्रिय पहिचानलाई विश्वमञ्चमा प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसरका रूपमा वर्णन गर्दै सम्पूर्ण नेपालीलाई पूर्णिमा कार्कीको अभियानमा साथ, समर्थन र शुभकामना दिन आग्रह गरेका छन्।
विश्वका प्रतिष्ठित सौन्दर्य प्रतियोगितामध्ये एक मानिने मिस सुप्रानेशनल २०२६ को भव्य फाइनल जुलाई ३१ मा पोल्याण्डमा आयोजना हुनेछ। यस प्रतियोगितामा विश्वभरका प्रतिनिधिहरूले व्यक्तित्व, नेतृत्व क्षमता, सामाजिक प्रभाव, संस्कृति र आत्मविश्वासका आधारमा प्रतिस्पर्धा गर्नेछन्।
नेपालले यसअघि डा. सन्तोष उपाध्यायमार्फत मिस्टर सुप्रानेशनलमा ऐतिहासिक सफलता हासिल गरिसकेको छ। यस वर्ष पूर्णिमा कार्कीले नेपालको प्रतिनिधित्व गर्दै नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्