Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


विभिन्न संचारमाध्यमहरूकाे कार्यालय अगाडि बेवारिसे रूपमा पार्किङ गरिएका गाडी ट्राफिक प्रहरीकाे नियन्त्रणमा, अनुसन्धान जारी


52
Shares

काठमाडौं । नेपाल कांग्रेस सभापति गगन थापाको घर, विभिन्न संचारमाध्यमहरुकाे कार्यालय र भाटभटेनी सुपरस्टोर अगाडि बेवारिसे छाेडिएका गाडीहरूलाई प्रहरीले रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालेको छ ।

शंकास्पद अवस्थामा राखिएका ती सवारीसाधनमा विष्फोटक वा अन्य शंकास्पद वस्तु भने नभेटिएकव प्रहरीले बताएकाे हाे। हिमालय टेलिभिजन अगाडि राखिएको गाडी अग्नि इनकर्पोरेट डी प्रालिका नाममा रहेको पहिचान भइसकेको छ । गाडीको धनी, चालक र ती ठाउँमा राखिनुको कारणकाे बारेमा ट्राफिकबाट नै अनुसन्धान हुने भएको प्रहरीले बताएकाे हाे ।

ट्राफिक प्रहरीले यातायात व्यवस्था कार्यालयसँग समन्वय गरी ती सवारी साधनका धनी वा त्यस कसुरमा संलग्न व्यक्ति पहिचान गरिने जनाएकाे छ । उनीहरुमाथि यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने भएको हाे । सोमबार रातोपुलस्थित कांग्रेस सभापति थापाको घर, थापाथलीस्थित कान्तिपुर, बुद्धनगरस्थित अनलाइन खबर, मध्यबानेश्वरस्थित हिमालय टेलिभिजन र अनामनगरस्थित भाटभटेनी सुपरस्टोरका सवारी आवागमन प्रभावित पार्ने नियतका साथ सवारी साधन पार्किङ गरिएका थिए ।

त्यसमध्ये कान्तिपुरमा रास्वपा नेता रवि जयसवालको र हिमालय टेलिभिजनमा अग्नि इनकर्पोरेट डी प्रालिका नामका गाडी भएको पुष्टि भइसकेको छ । यातायात व्यवस्था कार्यालय स्रोतले दिएको सूचनाका आधारमा ती व्यक्ति र कम्पनी पहिचान भएका हुन् । यद्यपि, प्रहरीले औपचारिक रुपमा केही खुलाएको छैन ।