Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


सिभिल अस्पतालका आठ कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्धा


442
Shares

काठमाडौं ।
काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालका आठ कर्मचारी भ्रष्टाचारमा तानिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्ध आज विशेष अदालतमा मुद्धा दायर गरेको छ । औषधि खरिद तथा मौज्दात व्यवस्थापनमा अनियमितता गरेको आरोपमा अस्पतालकी फार्मेसी अधिकृत दिपा ढुंगानासहित आठ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

मुद्दा दायर गरिएकाहरुमा फार्मेसी सहायकहरू लवेन्द्र कुँवर, केशवराज न्यौपाने, सन्दिप तिवारी, दिपक सापकोटा, वरिष्ठ फार्मेसी सहायकहरू दिनेश पन्त, विनोद पोखरेल र शर्मिला श्रेष्ठ रहेका छन् ।

उनीहरूले औषधि आपूर्तिकर्तासँग साँठगाँठ गरेर आपूर्ति नै नगरिएका औषधिको बिलबिजक बनाएर भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । म्याद गुज्रेका औषधि आपूर्तिकर्तालाई नै फिर्ता गरेर सोधभर्ना लिनुपर्नेमा उल्टै धरौटी रकम फिर्ता गरिदिएको समेत अख्तियारले जनाएको छ ।

यसरी दुई करोड ९१ लाख ३४२ रुपैयाँ भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको छ । उनीहरुबाट उक्त रकम जफत गर्न तथा कैद र जरिवानाको सजायको माग दाबी पनि अख्तियारले गरेको छ ।