Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


दुर्गन्धबाट सम्मानसम्मकाे यात्रा : राजदेवी टोलको स्वच्छता


156
Shares

सुदिप घिमिरे, सिराहा । एक समय खुला दिसामुक्त हुन संघर्ष गरिरहेको लहान नगरपालिका–७ स्थित राजदेवी टोल आज सरसफाइ र स्वच्छताको उदाहरणीय बस्तीका रूपमा स्थापित भएको छ। केही महिना अघिसम्म खुला स्थानमा दिसापिसाब गर्ने बाध्यता रहेको यस टोलमा अहिले प्रत्येक घरमा शौचालय निर्माण सम्पन्न भएसँगै बस्तीको वातावरण मात्र होइन, स्थानीयवासीको जीवनशैली र सामाजिक सम्मानसमेत सकारात्मक रूपमा परिवर्तन भएको छ।

राजदेवी टोलमा जम्मा २३ घरधुरी रहेका छन्। पहिले तीमध्ये ( घरमा शौचालयको सुविधा थिएन। आर्थिक अभाव, जनचेतनाको कमी तथा आवश्यक सहयोग नपाउँदा धेरै परिवारले शौचालय निर्माण गर्न सकेका थिएनन्। तर, लहान नगरपालिकाले सञ्चालन गरेको ‘घर–घरको शान, स्वच्छता अभियान’ प्रभावकारी रूपमा अघि बढेपछि अहिले टोलका सबै २३ घरमा शौचालय निर्माण सम्पन्न भएको छ। यससँगै राजदेवी टोल शतप्रतिशत शौचालययुक्त बस्ती बन्न सफल भएको हो।

स्थानीयका अनुसार केही समयअघिसम्म टोलका बाटो हुँदै हिँड्नसमेत कठिन हुने अवस्था थियो। खुला स्थानमा दिसापिसाब गर्ने चलनका कारण बारी, झाडी, बाटोछेउलगायत विभिन्न स्थानमा मानव मल छरिएर रहने, दुर्गन्ध फैलिने र वातावरण अत्यन्तै अस्वच्छ हुने गरेको थियो। दुर्गन्धका कारण कतिपय स्थानीयले आफ्नै टोलको ठेगाना भन्नसमेत संकोच महसुस गर्नुपरेको अनुभव सुनाएका छन्। अहिले भने प्रत्येक घरमा शौचालय निर्माण भएपछि टोल सफा, सुन्दर र व्यवस्थित बन्दै गएको छ।

यस परिवर्तनमा ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत कार्यरत युथ च्याम्पियन (युवा स्वयंसेवक) करिना रसाइली विश्वकर्मा सदाको योगदान उल्लेखनीय रहेको स्थानीयवासी बताउँछन्। करिनाले अभियानको सुरुवातदेखि नै आफ्नो टोलका प्रत्येक घरमा शौचालय निर्माण गराउने लक्ष्य लिएर निरन्तर जनचेतनामूलक अभियान सञ्चालन गरिन्। उनी बिहान–बेलुका घर–घर पुगेर शौचालय निर्माणको आवश्यकता बुझाउने, परिवारलाई प्रेरित गर्ने तथा नगरपालिकासँग समन्वय गर्ने कार्यमा सक्रिय रहिन्।

करिना रसाइली विश्वकर्मा सदाका अनुसार प्रारम्भिक चरणमा सबैले अभियान सहज रूपमा स्वीकार गरेका थिएनन्।

कतिपय घरधुरीमा जनचेतना अभावका कारण आफूले गालीसमेत खानुपरेको उनले स्मरण गरिन्। तथापि निरन्तरको प्रयास, धैर्यता र समुदायसँगको सहकार्यका कारण अन्ततः सबै परिवार शौचालय निर्माणका लागि तयार भएका थिए। उनका अनुसार लहान नगरपालिकाले शौचालयविहीन परिवारलाई आवश्यक निर्माण सामग्री उपलब्ध गराएर अभियानलाई थप प्रभावकारी बनाएको थियो।

नगरपालिकाले रिङ, पाइप, १५) वटा इँटा, एक बोरा सिमेन्ट, गिट्टी, बालुवा उपलब्ध गराउनुका साथै दैनिक तीनदेखि चार जना मिस्त्री परिचालन गरी निर्माण कार्यमा सहयोग गरेको थियो। यही सहयोगका कारण राजदेवी टोलका सबै २३ घरधुरीमा शौचालय निर्माण सम्पन्न गर्न सम्भव भएको करिनाको भनाइ छ।

यस अभियानबाट प्रत्यक्ष लाभान्वितमध्ये एक हुन् गुलाब कुमारी सदाय। उनी लहान नगरपालिका–७ को राजदेवी टोलमा बसोबास गर्छिन्। आर्थिक अवस्था कमजोर भएकाले लामो समयसम्म उनले आफ्नै घरमा शौचालय बनाउन सकेकी थिइनन्। उनका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेकाले घरको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थियो।

गुलाब कुमारीका अनुसार शौचालय नहुँदा उनी हरेक बिहान सबेरै अरूको बारीमा दिसापिसाब गर्न जान बाध्य हुन्थिन्। यस क्रममा धेरैपटक गाली खानुपरेको तीतो अनुभव उनले सुनाइन्। एक सन्तानकी आमासमेत रहेकी उनले आफ्ना साना बच्चालाई शौच गराउन सुरक्षित स्थान खोज्नुपर्ने अवस्था अत्यन्त पीडादायी भएको बताइन्। दिउँसो शौच वा पिसाब लागे पनि लाजका कारण लामो समयसम्म रोक्नुपर्ने, बिहान र साँझ जाँदा सर्प, जंगली जनावर तथा गलत नियत भएका व्यक्तिहरूको डरसमेत झेल्नुपरेको उनको अनुभव छ।

तर अहिले अवस्था पूर्ण रूपमा बदलिएको छ। श्रीमान्ले वैदेशिक रोजगारीबाट पठाएको रकम बचत गर्दै र आफूले ज्याला–मजदुरी गरेर कमाएको आम्दानी थपेर उनले आफ्नै घरमा नयाँ शौचालय निर्माण गरेकी छन्। साथै, लहान नगरपालिकाबाट प्यान, पाइप, रिङ तथा मिस्त्रीको सहयोग प्राप्त भएपछि निर्माण कार्य सहज भएको उनी बताउँछिन्।

आफ्नो घरमा शौचालय बनेपछि दैनिक जीवन निकै सहज भएको भन्दै गुलाब कुमारी भन्छिन्, “अब बाहिर जानुपर्ने बाध्यता हटेको छ। सुरक्षित वातावरणमा आफ्नै घरमा शौचालय प्रयोग गर्न पाउँदा धेरै खुसी छु। अहिले समाजमा पनि सम्मानका साथ शिर ठाडो पारेर हिँड्न सकेकी छु।” उनले प्रत्येक घरमा शौचालय हुनु स्वस्थ, सुरक्षित र सम्मानित जीवनका लागि अत्यावश्यक रहेकोमा जोड दिइन्।

यस्तै, राजदेवी टोलकै अमिता कुमारी दुलालले पनि टोलका सबै घरमा शौचालय निर्माण भएपछि वातावरणमा उल्लेखनीय सुधार आएको बताइन्। टोल सफा, सुन्दर र व्यवस्थित बन्दै गएकोमा खुसी व्यक्त गर्दै उनले अझै शौचालय निर्माण हुन बाँकी रहेका लहान नगरपालिकाका अन्य बस्तीका परिवारलाई पनि आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिन्।

राजदेवी टोल लहान नगरपालिकाको एउटा प्रतिनिधि उदाहरण मात्र हो। नगरपालिकाले सञ्चालन गरिरहेको ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत अहिले नगरका २४ वटा टोलमा शौचालय निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ। सरसफाइ सुधारलाई प्राथमिकतामा राख्दै नगरपालिकाले शौचालय निर्माणमा आवश्यक सहयोग, सामुदायिक शौचालय विस्तार तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेको जनाएको छ।

यद्यपि सरसफाइलाई अझ दिगो र प्रभावकारी बनाउन मानव मलजन्य फोहोर प्रशोधन केन्द्र (ँबभअब िक्गिमनभ त्चभबतmभलत एबिलत) स्थापना आवश्यक रहेको सरोकारवालाहरूको धारणा छ। यस विषयमा लहान नगरपालिकाले प्रारम्भिक गृहकार्य अघि बढाइसकेको जनाएको छ।

लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीका अनुसार मानव मलजन्य फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि आवश्यक कानुनी व्यवस्था तयार गर्ने प्रक्रिया अगाडि बढाइएको छ। निजी क्षेत्रलाई समेत सहभागिता गराई आधुनिक प्रशोधन प्रणाली विकास गर्ने नगरपालिकाको दीर्घकालीन योजना रहेको उनले जानकारी दिए।

राजदेवी टोलको अनुभवले देखाएको छ कि स्थानीय सरकारको सक्रियता, समुदायको सहभागिता र युवाको नेतृत्व एकसाथ जोडिँदा सरसफाइजस्तो आधारभूत क्षेत्रमा पनि उल्लेखनीय परिवर्तन सम्भव हुन्छ। प्रत्येक घरमा शौचालय निर्माणसँगै राजदेवी टोलले केवल खुला दिसामुक्त बस्तीको पहिचान मात्र बनाएको छैन, स्वच्छ, सुरक्षित र सम्मानित जीवनतर्फको महत्वपूर्ण यात्रा पनि तय गरेको छ।