Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


कालिकोट जाँदै गरेको फोर्स गाडी कर्णालीमा खस्यो, एक जनाको शव भेटियो


247
Shares

नविन कुमार शर्मा, दैलेख ।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतरा क्षेत्रमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दुर्घटनामा परी कर्णाली नदीमा खसेको छ ।

दुर्घटनाबारे टेलिफोनमार्फत सूचना प्राप्त हुनासाथ उद्धार सामग्रीसहित प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएकाे छ ।

प्रारम्भिक जानकारीअनुसार गाडी सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको छ। उद्धारका क्रममा हालसम्म नाम, थर र वतन खुल्न नसकेका एक जना पुरुषलाई फेला पारिएको छ।

उनलाई नदीबाट उद्धार गरी सडकतर्फ ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा उद्धार सामग्रीसहित ३५ जना प्रहरी परिचालन भई तीव्र रूपमा उद्धार कार्य सञ्चालन भइरहेको छ।

दुर्घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्दछ।

दुर्घटनाको कारण, गाडीमा सवार यात्रुको संख्या तथा मानवीय क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने जनाइएको छ।