Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल


104
Shares

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि पार्टीलाई जनविश्वासको केन्द्रका रूपमा स्थापित गरिने बताउनुभयाे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीले सोमबार सुर्खेतमा आयोजना गरेको एकदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीमा संकट पर्दा जनताले नै संरक्षण गर्ने भएकाले जनताका भावना, आवश्यकता र अपेक्षालाई बुझ्नुपर्नेमा जोड दिनुभयाे।

उनले पार्टीले निर्माण गरेका नीति तथा कार्यक्रम जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउन नसक्दा कतिपय अवस्थामा गलत बुझाइ उत्पन्न भएको बताउनुभयाे । “निराशालाई आशामा बदल्नु आजको आवश्यकता हो,” उहाँले भन्नुभयाे, “जनताको विश्वास जित्न पार्टीले आफ्ना विचार, नीति र कार्यक्रमलाई थप प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्छ।” पोखरेलले युवाहरूलाई पार्टीसँग जोड्न नसक्नु एमाले कमजोर देखिनुको एउटा प्रमुख कारण भएको उल्लेख गर्नुभयाे। युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राखेर संगठनलाई पुनः सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो।

महासचिव पोखरेलले “हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ,” उनले भने, “कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ। पार्टीलाई जनताको विश्वासयोग्य शक्ति बनाउँदै अघि बढ्नुपर्ने बताउनुभयाे ।”

कार्यक्रममा कर्णाली प्रदेशका नेता, कार्यकर्ता तथा पार्टीका विभिन्न तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संगठन सुदृढीकरण, विचार अभिमुखीकरण तथा आगामी राजनीतिक कार्यदिशाका विषयमा छलफल गरिएको थियो ।

Skip This