शुभकला राई, ओखलढुंगा । बाढी ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा शनिबार साँझ वर्षासँगै आएको बाढीले भौतिक संरचना र पशुचौपायामा क्षति पुर्याएको छ ।
चिसंखुगढी गाउँपालिका वडा नम्बर ३ र ५ जोड्ने खानिखोलामा आएको बाढीले पक्की पुल आंशिक रूपमा बगाएको छ । बाढी र पहिरोका कारण चिसंखुगढीका विभिन्न स्थानमा गोठ र घरहरूमा क्षति पुग्नुका साथै पशु चौपायाहरू बेपत्ता भएका छन् ।
चिसंखुगढी गाउँपालिका वडा नम्बर २ मा बाढीले टिका भुजेल र मन नारायण श्रेष्ठको गोठ पूर्ण रूपमा बगाएको छ । बाढीले भुजेलको एउटा भैँसी र श्रेष्ठका दुईवटा गोरु बेपत्ता बनाएको छ । यस्तै, वडा नम्बर ३ का मन बहादुर सार्कीको गोठ पनि बाढीले बगाउँदा तीनवटा गोरु बेपत्ता भएका छन् ।
पहिरोका कारण केही स्थानीय परिवार विस्थापित भएका छन् । वडा नम्बर १ का राम कुमार राईको घरमुनिबाट पहिरो जाँदा घरको अगाडिको भागमा आंशिक क्षति पुगेको छ ।
जोखिम बढेपछि राईको परिवार आफन्तकोमा ओत लागेको छ । सोही वडाका जनक बहादुर मगरको घरमाथिबाट पहिरो खस्दा घरको गारो चर्किएको छ र उनको परिवार पनि सुरक्षित स्थानमा सरेको प्रहरीले जानकारी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्