Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने


143
Shares


काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पार्नुभएको छ ।

चितवनको भरतपुरमा आयोजित पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीले प्राप्त गरेको जनमतलाई आत्मसात गरी कसैप्रति पनि प्रतिशोध नसाँध्ने बताउनुभयो । उहाँले राजनीतिक दलहरुबीच भएका वैमनस्यता पनि यहीँबाट अन्त्य गरी सहयोग र सहकार्यका साथ देश र जनताको पक्षमा काम गर्ने उल्लेख गर्नुभयो ।

पार्टीभित्र गुट–उपगुटको अभ्यास हुन नदिने उल्लेख गर्दै सभापति लामिछानेले महाधिवेशनमार्फत एकताको सन्देश दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पुराना राजनीतिक दलले बेहोरेको अनुभवबाट पाठ सिकेर गुटरहित ढङ्गले अघि बढ्न सके रास्वपालाई कुनै शक्तिले पराजित गर्न नसक्ने उहाँको भनाइ थियो ।

“रास्वपा लड्यो भने आफ्नै घुँडामा अल्झेर लड्छ, रास्वपालाई लडाउने अरू कसैको तागत छैन”, उहाँले भन्नुभयो, “गुट र उपगुटले दिने फल विषालु हुन्छ । त्यस्तो फल फल्यो भने वृक्ष नै काट्नुपर्ने अवस्था आउँछ । हामी अहिले कस्तो बीउ रोप्ने भन्ने मोडमा छौँ ।” रास्वपा देशको साझा राजनीतिक मञ्चका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै उहाँले पछिल्लो समय गैरराजनीतिक क्षेत्रका व्यक्ति पनि राजनीतिमा आउन थालेको बताउनुभयो ।

सभापति लामिछानेले नेपाली कांग्रेस र नेकपा (एमाले)भित्र देखिएका समस्या समाधान गर्न सुझाव दिँदै समस्या समाधान नभए त्यसले मुलुकलाई नै अप्ठ्यारो पर्ने बताउनुभयो । “हामीले इतिहासलाई जवाफ दिनुपर्नेछ । राष्ट्रिय राजनीति राम्रो हुन हाम्रो पार्टी मात्रै राम्रो भएर पुग्दैन, अरू दल पनि सुध्रिनुपर्छ”, उहाँले भन्नुभयो, “कांग्रेस र एमालेभित्र देखिएका अप्ठ्यारा समाधान भएनन् भने देशलाई समस्या पर्छ ।”

सभापति लामिछानेले पूर्वसहमति अनुसार नै सरकार अघि बढेको भन्दै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले लक्ष्यअनुसार काम गरिरहेको बताउनुभयो । “सरकार सञ्चालन गर्ने पूर्वसहमति अनुसार रास्वपाका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुगेको छ । गोल हान्ने जिम्मा उहाँलाई नै छ । झुक्किएर मेरो खुट्टामा बल आएछ भने पनि पास गरेर उहाँको खुट्टामा पुर्‍याउने जिम्मा मेरो हो”, लामिछानेले भन्नुभयो ।