काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा मतदान प्रक्रियालाई व्यवस्थित र निष्पक्ष बनाउन उम्मेदवारको नाम लेखिएको कुनै पनि चिट बोकेर मतदान केन्द्रमा जान नपाइने व्यवस्था गरिएको छ।
महाधिवेशनको मतदान प्रक्रियामा सहभागी हुने प्रतिनिधिले कुनै पनि उम्मेदवारको नाम समावेश भएको चिट वा सूची साथमा लिएर मतदान गर्न नपाउने नियम बनाइएको हो।
अनुशासन आयोगका पदाधिकारीहरूका अनुसार उक्त व्यवस्था उल्लंघन गर्दै कुनै प्रतिनिधि चिट बोकेर मतदान गर्न गएको पाइएमा सम्बन्धित उम्मेदवारको उम्मेदवारी नै खारेज हुन सक्ने व्यवस्था गरिएको छ।
रास्वपाका नेता गणेश पराजुलीका अनुसार मतदान प्रक्रियालाई प्रभावमुक्त, मर्यादित र अनुशासित बनाउन अनुशासन समितिले यस्तो व्यवस्था लागू गरेको हो।
उहाँले महाधिवेशनमा स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सबै प्रतिनिधिलाई नियमको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ। उद्घाटन समारोहमा रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले सम्बोधन गर्ने तयारी छ ।
आजदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु भरतपुर पुग्ने क्रम जारी छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चितवन पुग्नुभएकाे छ भने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगिसक्नुभएको छ ।
यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत चितवन पुगिसक्नुभएको छ ।









प्रतिक्रिया दिनुहोस्