काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारको ‘सय दिनमा सय काम’ को लक्ष्य प्रभावकारी नभएको टिप्पणी गर्नुभएको छ ।
शनिवार सिंहदरबारमा सम्पन्न नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री पौडेलले सरकारले तोकेका कतिपय कामहरूमा छलफलसम्म हुन नसकेको बताउनुभएको हो ।
सरकारको सय दिने कार्ययोजनाप्रति आलोचनात्मक दृष्टिकोण राख्दै उहाँले सय दिनमा सय काम गर्ने घोषणा गरेको भएपनि कतिपय कामबारे छलफलसमेत हुन नसकेको बताउनुभयो । उहाँले सरकारले धेरै कामको सूची बनाउनुभन्दा थोरै र निश्चित कामहरू तोकेर त्यसलाई पूर्णता दिएको भए परिणाममुखी हुने सुझाव दिनुभयो ।
नेपाली काँग्रेसले सरकारका गतिविधिहरूलाई नजिकबाट नियालिरहेको समेत उहाँले स्पष्ट पार्नुभयो । पार्टीको आन्तरिक विषय र आगामी १५ औँ महाधिवेशनका सन्दर्भमा बोल्दै महामन्त्री पौडेलले पार्टीभित्र केही असन्तुष्टिहरू रहेको स्वीकार गर्नुभयो । यस्ता असन्तुष्टिहरू पहिले पनि हुने गरेको उल्लेख गर्दै उहाँले अहिलेको समस्यालाई व्यवस्थापन गर्न नेतृत्वले संवाद र छलफल गरिरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले सय दिनमा सय काम गर्ने घोषणा गरेको थियो, तर तीमध्ये कतिपय विषयमा त छलफल समेत भएको छैन । काम पूरा हुनु त धेरै टाढाको कुरा हो । पार्टीभित्र देखिएका विमतिहरूलाई समझदारीपूर्ण तरिकाले समाधान गर्दै हामी अगाडि बढ्छौँ । आगामी १५औँ महाधिवेशनमा सबै नेता, कार्यकर्ता र अग्रजहरूको सम्मानजनक सहभागिता हुनेछ । महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन हुने वातावरण सुनिश्चित गरिनेछ र कोही पनि अवसरबाट वञ्चित हुने छैनन् ।’ महामन्त्री पौडेलले आगामी महाधिवेशनलाई सबैको अपनत्व महशुस हुने गरी समावेशी र उत्साहजनक रूपमा सम्पन्न गर्न पार्टी पंक्ति क्रियाशील रहेको समेत बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्