काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बालाजुस्थित सुकुम्वासी राखिएका ‘होल्डिङ सेन्टर’को बिहीबार अवलोकन गरेका छन् ।
त्यसक्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुम्वासी परिवारसँग विगतमा भएका कमजोरीप्रति माफी मागे ।
सुकुम्वासी परिवारको उचित व्यवस्थापनप्रति सरकार गम्भीर रहेको स्पष्ट पार्दै गृहमन्त्री गुरुङले व्यवस्थापनका क्रममा कुनै कमीकमजोरी भएको भए क्षमा गरिदिन आग्रह गरे ।
उनले भने, “सरकारले कुनै पनि हालतमा तपाईंहरूको उचित व्यवस्थापन गर्नेछ, अहिले पनि हाम्रो ध्यान यसैमा केन्द्रित छ ।”
सो क्रममा सुकुम्वासी परिवारले गृहमन्त्री गुरुङ समक्ष होल्डिङ सेन्टरमा बसोबास सहज भए पनि बालबालिकाको शिक्षादीक्षामा अप्ठयारो भोग्नु परेको गुनासो गरेका थिए ।
उनीहरूको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले उक्त क्षेत्रमा आवश्यक व्यवस्थापनका लागि प्रहरी टोली खटाउन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।
सो अवसरमा गृहमन्त्री गुरुङले होल्डिङ सेन्टरको निरन्तर अद्यावधिक विवरण राख्न र कुनै पनि समस्या आउना साथ तुरुन्तै समाधान गर्न निर्देशन दिए ।










प्रतिक्रिया दिनुहोस्