काठमाडौं । काठमाडौंको स्वयम्भूस्थित सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालय हलचोक परिसरमा बुधबार राति भीषण आगलागी भएको छ।
प्रारम्भिक जानकारीअनुसार मुख्यालय परिसरमा पार्किङ गरी राखिएको एउटा मोटरसाइकलबाट आगो सुरु भएको र त्यसले फैलिँदै सात वटा सवारीसाधनमा क्षति पुर्याएको छ।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा अचानक आगो देखिएपछि केही मिनेटमै आगोले छेउछाउमा पार्क गरिएका अन्य सवारीसाधनमा पनि आगलागी भएकाे छ । आगलागीका कारण कम्तीमा सात वटा सवारीसाधन पूर्ण वा आंशिक रूपमा जलेका छन्। केही सरकारी प्रयोजनका गाडीहरूमा समेत क्षति पुगेको बताइएको छ।
आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा काठमाडौं महानगरपालिकाका दमकलहरू परिचालन गरिएको थियो। सुरक्षाकर्मीको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिइएको छ।
घटनाबाट मानवीय क्षति नभएको प्रारम्भिक विवरण प्राप्त भएको छ। सवारीसाधन तथा अन्य भौतिक संरचनामा ठूलो आर्थिक क्षति पुगेको अनुमान गरिएको छ।
आलागीको वास्तविक कारण, क्षतिको यकिन विवरण तथा आगो कसरी फैलियो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ। घटनास्थलमा प्राविधिक टोलीले निरीक्षण गरिरहेको सुरक्षा स्रोतले जनाएको छ।
यस घटनापछि मुख्यालय परिसरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ भने क्षतिको विस्तृत विवरण संकलन गर्ने काम जारी रहेको बताइएको छ।










प्रतिक्रिया दिनुहोस्