Logo २० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026


एमाले अध्यक्ष ओलीकै अघि विष्णु पौडेलले भने- पार्टी पुनर्गठन गर्छौं


572
Shares

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी अहिलेको संरचना र कार्यशैलीबाट अघि बढ्न नसक्ने निष्कर्षमा नेतृत्व पुगेको बताएका छन्।

पार्टीले आयोजना गरेको दुई दिने कार्यशाला उद्घाटन कार्यक्रममा बोल्दै उनले संगठनात्मक जीवनलाई पुनर्गठन गर्दै अघि बढ्ने निर्णय सचिवालय बैठकबाट गरिएको जानकारी दिए।

उनका अनुसार हालैको निर्वाचनमा पार्टीले बेहोरेको धक्काको कारण खोजी गर्न गम्भीर समीक्षा गरिनेछ। “हामी किन कमजोर भयौं, कहाँ कमी भयो भन्ने विषयमा गहिरो विश्लेषण गरेर सुधारका बाटो खोज्नेछौं,” उनले भने। उनले पार्टीलाई नयाँ ढंगले व्यवस्थित गर्दै जनताको विश्वास पुनः हासिल गर्ने लक्ष्य राखिएको पनि स्पष्ट पारे।

उक्त कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टीभित्र देखिएको अन्योल र निराशाप्रति चिन्ता व्यक्त गरेका थिए। उनले केही नेताहरू आत्मभर्त्सनामा केन्द्रित भएको भन्दै त्यसले संगठनलाई कमजोर बनाउने बताए। “विपक्षीले हमला गरिरहेका बेला आफूभित्रै निराशा फैलाउनु उचित होइन,” उनले भने।

ओलीले पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट दिशासहित अघि बढाउन आवश्यक रहेको उल्लेख गर्दै मित्र शक्तिसँग सहकार्य बढाउनुपर्नेमा जोड दिए। उनले आन्तरिक एकता सुदृढ गर्दै रणनीतिक रूपमा अघि बढेमा पार्टी पुनः मजबुत बन्ने विश्वास व्यक्त गरे।