Logo १८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026


प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको विपक्ष दलहरूको निष्कर्ष, माफी माग्न माग


182
Shares

काठमाडौँ । विपक्ष दलहरूले भारतसँग सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र साहले दिएको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै संसद्मा आएर माफी माग्न माग गरेका छन् ।

सोमवार प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलमा बसेको विपक्ष दलहरूको बैठकले प्रधानमन्त्रीले संसद्मा नेपालको पनि भारतको धेरै ठाउँ मिचेको छ भनी दिएको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकाल्दै माफी माग्न प्रधानमन्त्री साहलाई सचेत गराउने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएकाले संसद्मा आएर माफी माग्न माग गरिएको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सचेतक निश्कल राईले बताए ।

उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

सचेतक राईले भने ‘हिजो प्रधानमन्त्रीले जुन खालको अभिव्यक्ति दिनु भयो । त्यहाँ नेपालले भारतको भूमि अतिक्रमण नै गरेको भनेर जुन खालको अभिव्यक्ति । यो अत्यन्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति छ । यो राष्ट्रघाती खालको अभिव्यक्ति छ । मिचेको होइन भने उहाँले संसद्मा आएर त्यही गरिमामय रोष्टमबाट माफी माग्नुपर्दछ भन्ने हाम्रो आजको अडान हो । हामीले यस्ता खाला अभिव्यक्तिहरूले हाम्रो सार्वभौमिकतामा राम्रो गरिराखेको छैन । त्यसो भएको हुनाले उहाँले माफी माग्नुपर्दछ भन्ने हो ।’

त्यसैगरी विपक्ष दलहरूले सभामुख डोलप्रसाद अर्यालले संसद्को नियमावली विपक्ष दलहरूलाई पेलेर पास गराएको भन्दै आपत्ति समेत जनाएको छ । विपक्ष दलहरूलाई पेलेर संसद्को नियमावली पास गराउने सभामुख अर्यालको भूमिका दुःखद भएको निष्कर्ष पनि बैठकले निकालेको एमाले संसदीय दलकी उपनेता पद्या अर्यालले बताइन् ।

उनले भनिन् ‘राष्ट्रियता जस्तो संवेदनशील विषयमा हामी सबैको चासोको विषय हो । तर जुन ढंगले संसद् ठेलेर, पेलेर अगाडि बढाउने परिस्थिति बन्यो । त्यो राम्रो होइन । इतिहास हेर्नु भयो भने नेपालको इतिहासमा संसद् परिचालन गर्ने नियमावली हामी सबैको साझा हो नि । सरकार कसैको हुन सक्छ । तर त्यो संसद्मा भएको सबै सदस्यको अपनत्व हुने गरी नियमावली पास गर्नु पर्दथ्यो । हाम्रो कुरा त्यो थियो । तर सम्माननीय सभामुख महोदयले खै किन हो रु त्यो विषयमा एक पटक हामी छलफल गरेर कुरा गरेर वातावरण बनाउभन्नेतिर लाग्नु भएन । विगतमा पनि हाम्रा विमतिका विषयहरू हुन्थे । कहिले कसका हुन्थे, कहिले कसका हुन्थे । जसले नेतृत्व गरेको छ । त्यो दलले सहमति गरेर नै संसद्को नियमावली सहमतिमा नै पास भएर आएको इतिहास हो । तर यस पटक विपक्षलाई नाराबाजीमा उतारेर पास गर्ने जे खालको कुरा भयो । यो धेरै दुखद कुरा हो । हामीले यस विषयमा विश्लेषण गरेका छौ । सम्माननीय प्रधानमन्त्रीजीले सार्वभौम संसद्मा आएर जुन खालको जवाफ दिँदै गर्दा जुन राष्ट्रघाती अभिव्यक्ति उहाँले दिनु भयो । त्यसले सिंगो नेपाल राष्ट्रको शीर झुकेको छ । हामी नेपालीहरूको स्वाभिमान कमजोर भएको छ । र, हामी सबैको शीर झुकेको छ । यो निन्दनीय कुरा नै छ । र, त्यसका प्रति राष्ट्रलाई शीरमा बोकेर राष्ट्रका मोटोलाई समातेर कसम खाएर सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्ना त्रुटिपूर्ण जुन खालका राष्ट्रघाती अभिव्यक्ति हो । त्यो क्षमायाचनासहित भन्ने निष्कर्ष प्रतिपक्ष दलहरूको छ । हामी त्यो कुरा संसदमार्फत प्रसारण गर्छौ । अव संसद्मा त्यसको रेसपोन्स कसरी जान्छ रु त्यसको आधारमा भोलीका दिनमा हाम्रा कार्यक्रमहरू तय हुन्छ ।’

विपक्ष दलहरूले सभामुख अर्यालको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् ।