काठमाडौं । प्रतिकूल मौसमका कारण रुख ढल्दा देशका विभिन्न ठाउँमा विद्युत प्रसारण लाइनमा क्षति पुगी केही स्थानमा विद्युत् आपूर्तिमा अस्थायी अवरोध उत्पन्न भएको छ ।
प्रभावित क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू निरन्तर रूपमा खटिएर मर्मत तथा पुनः सञ्चालनको कार्य तीव्र गतिमा अघि बढाइरहेको प्राधिकरणले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठको निर्देशनपछि विद्युत् आपूर्ति सुचारु गराउन मन्त्रीको सचिवालय सक्रिय रूपमा समन्वयमा जुटेको छ ।
नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार सोमबार विहानसम्म विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु गर्ने लक्ष्यसहित प्राधिकरणका कर्मचारी, प्राविधिक तथा मजदुरहरू रातभर परिचालित भएका छन् । प्राधिकरणले मौसमजन्य जोखिमका कारण केही क्षेत्रमा समस्या देखिए पनि मर्मत तथा पुनः सञ्चालनको काम तीव्र गतिमा अघि बढिरहेको जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार पिलुवा–पथलैया–चन्द्रनिगाहपुर खण्डअन्तर्गत टावर नं. १२२–१२३ बीच रुख ढलेपछि प्रसारण लाइन प्रभावित भएको थियो । उक्त क्षेत्रमा ढलेको रुख हटाउने कार्य सम्पन्न भइसकेको छ भने हाल सर्किट चार्ज गर्ने प्रक्रिया जारी रहेको जनाइएको छ ।
त्यस्तै, सोही खण्डको टावर नं. १३६–१३७ बीच ढलेका तीन वटा रुख हटाइसकिएको प्राधिकरणले जनाएको छ । अहिले लाइन पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य भइरहेको छ ।
यता अमलेखगञ्ज–कामाने खण्डअन्तर्गत टावर नं. ४६–४७ बीच एक रुख ढल्दा आरटीएस कन्डक्टरमा क्षति पुगेको छ । उक्त क्षेत्रमा मर्मत कार्यका लागि प्राविधिक टोली घटनास्थलमा पुगिसकेको र स्ट्रिङिङ कार्य सुरु गरिएको प्राधिकरणले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्