Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु


442
Shares

नयाँदिल्ली। दक्षिणी भारतमा यस गर्मी मौसममा तापलहर (लु) का कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार जनाएका छन् । देशका विभिन्न भागमा फैलिएको तीव्र लुपछि स्वास्थ्य सतर्कता जारी गरिएको छ ।

भारतमा गर्मी असामान्य कुरा नभए पनि वैज्ञानिक अध्ययनले जलवायु परिवर्तनका कारण लुहरू पहिलेभन्दा लामो, बढी आवृत्तियुक्त र बढी तीव्र हुँदै गएको देखाएको छ । एक अर्ब ४० करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली राष्ट्रका विभिन्न सहरमा हालै तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेसँगै जनजीवन प्रभावित बनाएको छ ।

दक्षिणी राज्य तेलङ्गानामा सबैभन्दा बढी मृत्यु दर्ता भएको छ । त्यहाँका राजस्वमन्त्री पोङ्गुलेटी श्रीनिवास रेड्डीले जनस्वास्थ्य सुरक्षाका लागि राज्यव्यापी सतर्कता अपनाउन आह्वान गरे । उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा गर्मीको तीव्रता अभूतपूर्व स्तरमा पुगेको उल्लेख गर्दै समयमै चेतावनी प्रणाली र सावधानी उपाय अपनाउन निर्देशन दिइएको छ ।

स्वास्थ्य विशेषज्ञका अनुसार अत्यधिक गर्मीले शरीरमा पानीको कमी (डिहाइड्रेसन) गराउन सक्छ, जसले रगत बाक्लो बनाउने र गम्भीर अवस्थामा अङ्गहरू काम गर्न छोड्ने जोखिम बढाउने गर्छ । तेलङ्गानाको स्थानीय प्रशासनले वृद्ध, बालबालिका र गर्भवतीलाई अत्यावश्यक नभएसम्म दिनको समयमा बाहिर ननिस्कन आग्रह गरेको छ ।

यसैबिच, भारतीय मौसम विभागले देशका धेरै भागमा सामान्यभन्दा बढी तापक्रम र तीव्र लु जारी रहने चेतावनी दिएको छ । राजधानी नयाँदिल्ली र आसपासका क्षेत्रमा यस हप्ता लगातार तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जसले विद्युत मागलाई रेकर्ड स्तरमा पुर्याएको छ ।

विशेषज्ञहरूका अनुसार दिउँसो मात्र नभई रातको तापक्रम पनि उच्च रहँदा मानिसले पर्याप्त आराम नपाइरहँदा स्वास्थ्य जोखिम अझ बढाएको छ । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारत हरितगृह ग्यास उत्सर्जन गर्ने देशमध्ये तेस्रो स्थानमा पर्छ र विद्युत् उत्पादनका लागि कोइला उपयोगमा उच्च निर्भरता राख्छ ।

भारतले सन् २०७० सम्ममा शुद्ध–शून्य उत्सर्जन हाँसिल गर्ने प्रतिबद्धता जनाएको छ । यो प्रतिबद्धता धेरै औद्योगिक पश्चिमी देशको लक्ष्यभन्दा करिब दुई दशक पछिको हो । यसअघि सन् २०१६ मा राजस्थानको फलोदीमा ५१ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । यसलाई भारतमा हालसम्मको सबैभन्दा उच्च आधिकारिक तापक्रम मानिन्छ ।