काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्रान्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा मारेको छ ।
उक्त स्थानबाट ठूलो मात्रामा रेडलेवल, ब्ल्याक लेवललगायत महंगा ब्रान्डेड रक्सी समेत बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सोही ठाउँमा रहेको वीर्खबहादुर तामाङको घरमा अवैध रूपले नक्कली ब्रान्डेड मदिरा तयार गरिरहेका चारजनालाई समेत नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरूमा रामेछापको खाँडादेवी गाउँपालिका–२ बस्ने ३० वर्षीय मनोज खत्री, सोही जिल्लाको खिम्ति गाउँपालिका बस्ने २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ र सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–६ बस्ने २२ वर्षीय छिदेन निमा तामाङ छन् ।
सशस्त्र प्रहरीले सोही ठाउँबाट रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजस्वको स्टिकर र होलोग्राम समेत बरामद गरेको छ । नियन्त्रणमा लिइएकाहरूलाई बरामद सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्