बाजुरा । बाजुराका चार पालिकाले जिल्लाको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर भएको विवाद तथा हुम्लाबासीबाट भएको हमलाको विरोध गरेका छन् ।
बुधवार हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका प्रमुखहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएका हुन् ।
विज्ञप्तिअनुसार जेठ ३ गते धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल सहितको टोली हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौ भन्ने अभियान सहित पर्यटकीय क्षेत्र रानीसैन जाने क्रममा हुम्लाको खार्पुनाथका स्थानीयहरुले गरेको आक्रमणप्रति निन्दा गर्दै दोषी सबैलाई कानुनी कारबाही गर्न माग गरेका छन् । लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण गर्न नदिने अडान सहित त्यहाँका स्थानीयबासी लगायतमाथि हुम्लाबासीबाट भएको साँघातिक हमला गर्नेमाथि तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् ।
लापाटा, च्याचौर र रानीसैन क्षेत्रको स्वामित्वबारे विगतदेखि नै दुई जिल्लाका स्थानीयहरुविच मतभेद रहँदै आएको देखिन्छ । चार पालिकाका प्रमुखहरुले जारी गरेको विज्ञप्तिमा हिमाली ३ मा पर्ने लाम्पाटा, च्याचौर, रानीसैन साविकको बिच्छ्या गाविसका नागरिकहरुले उपभोग गर्दै आएको बताएका छन् ।
यस्तै नेपाल सरकारको नापी विभागले सन् २००१ सालमै फिल्ड भेरिफिकेसनसहित नक्सा जारी गरिसकेको उल्लेख गर्दै ती क्षेत्र बाजुराकै भूभाग भएको दाबी गरिएको छ । स्थानीय तहहरूले आफ्नो प्रशासनिक क्षेत्रभित्र सुरक्षा संरचना स्थापना हुनुपर्ने पक्षमा देखिए पनि हुम्ला पक्षले त्यसको विरोध गर्दै विवादका क्रममा झडप गर्दा ६ जना घाइते समेत भएका छन् ।
विज्ञप्तिमा भनिएको छ, “अहिले भएको विवादित क्षेत्र बाजुरामा पर्ने स्पष्ट कानुनी आधार हुँदा हुदैँ त्यहाँका स्थानीय नागरिकले उपभोगका आधारमा आफ्नो हो भनि स्थानीयमाथि गरिएको हमला निन्दनीय हुनुका साथैं रानीसैन क्षेत्र र सीमावर्ती क्षेत्रका जनताको दावि निराधार र तथ्यहीन छ ।”
यस्तै स्थानीय तहका प्रमुखहरूले लाम्पाटा लगायतका क्षेत्रबारे उत्पन्न विवाद तथ्य र प्रमाणका आधारमा समाधान गर्न जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला समन्वय समिति, सुदूरपश्चिम प्रदेश सरकार, गृह मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण गराएका छन् । अन्यथा उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।










प्रतिक्रिया दिनुहोस्