Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


सरकारको नीति तथा कार्यक्रममा ठोस मार्गचित्रको अभावः सांसद पुन


0
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–२०८४ को नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद पुनले उक्त कार्यक्रम यथास्थितिवादी भएको र यसले जनअपेक्षा सम्बोधन गर्न नसक्ने आशङ्का व्यक्त गर्नुभयो । सांसद पुनले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

विगतमा कम्तीमा पाँच दिनसम्म छलफल हुने र त्यसपछि प्रि–बजेट छलफलका आधारमा बजेट निर्माण हुने परम्परा रहेकोमा यसपटक समय असाध्यै न्युन पारिएको उहाँको भनाइ थियो । प्रधानमन्त्रीले संसद्मा प्रतिपक्षी दलका नेताहरूको प्रश्नको सामना गर्दै आफ्ना कार्यक्रमको औचित्य पुष्टि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

दुई तिहाइ नजिकको समर्थन प्राप्त सरकारसँग जनताको उच्च आकाङ्क्क्षा रहेको स्मरण गराउँदै सांसद पुनले नीति तथा कार्यक्रम र सत्तारुढ दलको चुनावी प्रतिवद्धताबीच तादात्म्यता नदेखिएको उल्लेख गर्नुभयो ।

पुनले भन्नुभयो, ‘प्रधानमन्त्रीकै नीति तथा कार्यक्रम भएपनि उहाँको उपस्थिति र स्वामित्वमा कमी देखियो । राष्ट्रपतिलाई धन्यवाद दिने प्रश्ताव आफैँले प्रश्तुत गरेर पुनः आफैँले समर्थन नगर्ने जस्तो नयाँ र अनौठो अभ्यास संसद्मा देखिएको छ । सत्तारुढ दलको सय बुँदे कार्ययोजना र नीति तथा कार्यक्रममा मेल देखिँदैन ।

सरकारको प्राथमिकता के हो भन्ने कुरा यसमा स्पष्ट छैन ।’ नेपालको राजनीतिक उपलब्धिका बारेमा चर्चा गर्दै उहाँले ६ दशक लामो सङ्घर्षबाट सामन्तवादको अन्त्य भई सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनु भयो ।