काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आम जनतामा कुनै नयाँ उत्साह जगाउन नसकेको टिप्पणी गर्नुभएको छ ।
नयाँ सरकार गठन भएसँगै नीति तथा कार्यक्रममा नवीनता र विशेष योजनाको अपेक्षा गरिए पनि यो केवल विगतकै निरन्तरता मात्र भएको उहाँले बताउनुभएको हो । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक दुलालले सरकारको नीति तथा कार्यक्रमलाई ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ को संज्ञा दिनुभयो । उहाँले २०७४/७५ देखि नै प्रदेश र संघको नीति कार्यक्रम उस्तै शैलीमा आइरहेको उल्लेख गर्दै यसपटक पनि कुनै नयाँ ऊर्जा वा सोच नदेखिएको बताउनु भयो ।
नीति तथा कार्यक्रममा केही सकारात्मक बुँदाहरू रहेकाले आफू पूर्ण रूपमा निराश नभएको स्पष्ट पार्दै उहाँले कार्यान्वयनको पक्षमा भने कुनै ठूलो चुनौती नदेखिएको बताउनु भयो । परम्परागत कार्यक्रम भएकाले यसको कार्यान्वयन सामान्य रहने उहाँको विश्लेषण छ । यद्यपि, नयाँ सरकारले जनतामा नयाँ उत्साह र आशाको सञ्चार गर्नुपर्नेमा सरकार चुकेको उहाँको निष्कर्ष छ ।










प्रतिक्रिया दिनुहोस्