Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


यातायात क्षेत्र प्रविधिमैत्री हुनुपर्छः मन्त्री थापा


143
Shares

काठमाडाैं । बागमती प्रदेशका श्रम रोजगार तथा यातयात मन्त्री जयराम थापाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले यातायात क्षेत्रलाई २१ औँ शताब्दीको प्रविधिसँग प्रतिष्पर्धी बनाउन नीतिगत सुधार, प्रविधिमैत्री प्रणाली र व्यवसायीहरूको एकता आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले कुनैपनि देशको विकासको स्तर त्यहाँको यातायात प्रणालीबाट मापन गर्न सकिने बताउनुभयो । उहाँले सार्वजनिक यातायातमा जीपीएस जडान, प्रविधिमैत्री मापदण्ड र पेट्रोलियम तथा डिजेल सवारीलाई क्रमशः विद्युतीय सवारीतर्फ रूपान्तरण गर्ने राज्यको नीति रहेको बताउनुभयो ।

यसमा सहयोग गर्न उहाँले यातयात व्यवसायीहरुलाई आग्रह गर्नुभयो । यातायात क्षेत्रमा धेरै संघ–संस्था हुँदा एउटै विषयमा फरक–फरक धारणा आउने गरेको उल्लेख गर्दै उहाँले ऐन र मापदण्ड निर्माणमा अन्योल सिर्जना हुने बताउनु भयो । उहाँले अधिकार प्राप्तिका लागि व्यवसायीहरू पहिले आफैं एकीकृत र बलियो हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सवारी साधन भित्र्याउँदा अन्तर्राष्ट्रिय कम्पनीहरूले ल्याएका मापदण्ड नेपाली सडक र भूगोलअनुकूल छन् वा छैनन् भन्ने मूल्यांकन गरेर मात्रै ल्याउन पनि आग्रह गर्नुभयो ।

उहाँले यातयात क्षेत्र सुधारको लागी राज्यले नीति निर्माणमा सुधार गर्नुपर्ने बताउनु भयो । लगानीकर्ताको पुँजी सुरक्षित गर्न तथा यातायात क्षेत्रमा कार्यरत चालक, सहचालक र कामदारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।