सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कमला–ढल्केबर–पथलैया सडक-खण्डको स्तरोन्नति कार्यले गति लिएको छ ।
१८ अर्ब ६० करोड रुपैयाँको लागतमा शुरु भएको यस आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ३० प्रतिशत भौतिक प्रगति भएको हाे । तर राजमार्गको काम समयमा नसकिदा कर्ल्भट र पुल बनाउन तयार गरिएका डाईभर्सनका कारण यात्रु र सवारी साधनले सास्ती झेल्दै आएका छन् ।
महेन्द्र राजमार्गलाई एशियाली मापदण्ड अनुसार चार लेनमा विस्तार गर्ने योजना अन्तर्गत अहिले कमला–ढल्केबर–बागमती खण्डमा काम भइरहेको छ । ७४ दशमलव ७५ किलोमिटर लामो यो सडकखण्डलाई १८ मिटर चौडाइको बनाइँदैछ । जहाँ बीचमा चार मिटरको ‘मेडियन’ रहनेछ । बजार क्षेत्रहरूमा भने सडक ६ लेनको हुने भएकाे हाे ।
धनुषाको वीरेन्द्रबजारसहित सर्लाहीका लालबन्दी, नवलपुर, हरिवन र नयाँरोडमा ३१ मिटर चौडा सडकसँगै फ्लाइ ओभर र अण्डरपास निर्माण गर्ने आयोजनाको लक्ष्य छ । अहिले पुराना कमजोर सडक संरचना हटाएर कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ । तर, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सनका कारण सवारी जाम बढ्दा यात्रु र चालकले निकै सास्ती खेप्नुपरेको स्थानीयवासी माधवप्रसाद खरेलले बताउनुभयाे ।
विश्व बैंकको सहयोगमा सञ्चालित यस आयोजनालाई तीन लटमा विभाजन गरी ठेक्का लगाइएको छ । पहिलो खण्ड इकेके इन्फ्रास्ट्रक्चर इन्डियाले र बाँकी दुई खण्ड चिनियाँ कम्पनी एसडब्ल्यु इजे र आरसीसी जेभीले निर्माण गरिरहेका छन् । निर्माण कम्पनीका प्रतिनिधि विश्वमित्र रिजाल मूल्यवृद्धिका बाबजुद वर्षाअगावै डाइभर्सनको काम सक्ने दावी गर्नुभयाे ।
कमलादेखि पथलैया सम्मको १ सय ३० किलोमिटर अहिले स्तरोन्नती भैरहेको छ । यो सडक खण्डमा डेडिकेडेड ४ लेन र शहरी क्षेत्रमा सर्भिसलेन्स सडक बन्नेछ । नेपाल सरकार र विश्व बैंकबीच सन् २०२० मा भएको सम्झौता अनुसार यो परियोजनाको काम भइरहेको हो । यसमा कमला र बागमती नदीका पुल समावेश छैनन् ।
ती नदीमा आधुनिक ‘सिग्नेचर ब्रिज’ बनाउने योजना भए पनि काम अझै शुरु नभएको आयोजना प्रमुख राजेश कुमार दासले बताउनुयाे । लामो समयदेखि अलपत्र यो आयोजना समयमा नै सम्पन्न भए सडकका कारण सास्ती खेप्दै आएका स्थानीयलाई सहजता हुनेछ ।
भिडियाे रिपाेर्ट:










प्रतिक्रिया दिनुहोस्