काठमाडाैं । पर्साकाे वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको ९ महिनामा ६ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँका वस्तु तथा सामान आयात भएको छ ।
वीरगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भने ८० अर्ब ४४ करोड रुपैयाँ अर्थात् १३ प्रतिशत बढी आयात भएको हो । जबकी गत आर्थिक वर्षको ९ महिनामा भने ६ खर्ब १३ अर्ब ६१ करोड रुपैयाँबराबरका वस्तु तथा सामान आयात भएको थियो । कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षमा यो नाका हुँदै हुने आयातमा बढोत्तरी भएको बताउनुभयाे ।
यो नाका हुँदै चालु आर्थिक वर्षको ९ महिनामा १ खर्ब ४८ अर्ब १६ करोड रुपैयाँको पाँच थरिको पेट्रोलियम पदार्थ आयात भएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा भने १ खर्ब ४० अर्ब १० करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको थियो । चालु आवको नौ महिनामा ६२ अर्ब २६ करोड रुपैयाँ पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा भने ५५ अर्ब ९ करोड रुपैयाँका फलाम तथा फलामबाट बनेका सामान भित्रिएको थियो ।
चालु आवको ९ महिनामा ५० अर्ब ४० करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा ३८ अर्ब १५ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भयो । चालु आर्थिक वर्षको ९ महिनामा ४९ अर्ब १३ करोड रुपैयाँ पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ । जबकी गत आर्थिक वर्षको ९ महिनामा भने ४० अर्ब ५७ करोड रुपैयाँको मेसिनरी तथा पार्टपुर्जा भित्रिएको थियो ।
चालु आर्थिक वर्षको ९ महिनामा ३४ अर्ब १९ करोड रुपैयाँ पर्ने इलेक्ट्रिक मेसिनरी उपकरण र तिनका पार्टपुर्जा भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने ३० अर्ब १४ करोड मूल्यका इलेक्ट्रिक मेसिनरी उपकरण र तिनका पार्टपुर्जा आयात भएको थियो । कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा एक खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेको भन्सार कार्यालयले जनाएकाे छ ।









प्रतिक्रिया दिनुहोस्