काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार भएका खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।
जनकपुरमा बिहीबार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको १ सय ५१ रनको लक्ष्य आर्मीले २० ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । आर्मीका विनोद भण्डारीले १ सय रन बनाए । सुदूरपश्चिमका शेर मल्लले २ विकेट लिएका छन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ३८ ओभर १ बलमा १ सय ५० रन बनाउँदा अलआउट भयो । सुदूरपश्चिमका नारायण जोशीले ६३ रन बनाए । आर्मीका बसिर अहमदले ५ विकेट लिएका थिए ।
योसँगै आर्मी ७ खेलमा ६ जितसहित १३ अङ्क जोडर तालिकाको शीर्ष स्थानमा यथावत् छ । सुदूरपश्चिम ८ खेलमा ५ जीतसहित १० अङ्कसहित दोस्रो स्थानमा रहेको हो ।
त्यस्तै, वीरगञ्जमा बिहीबारै भएको अर्को खेलमा पुलिसले कर्णाली प्रदेशलाई ४८ रनले पराजित गरेको छ । पुलिसले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको कर्णाली ४५ ओभर २ बलमा २ सय १३ रन बनाउँदा अलआउट भयो । कर्णालीका अर्जुन घर्तीले ४६ रन बनाए । पुलिसका ललित राजवंशीले ५ विकेट लिएका थिए।
यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनायो । पुलिसका दिनेश खरेलले ८२ रन बनाए । कर्णालीका प्रकाश जैशीले ३ विकेट लिएका छन् ।
योसँगै पुलिस ७ खेलमा ४ जीतसहित ९ अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । कर्णाली ८ खेलमा १ जित र १ बराबरीसँगै ३ अङ्क जोडेर नवौँ स्थानमा रहेको छ ।








प्रतिक्रिया दिनुहोस्