काठमाडौं ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कमला र सप्तरीको कञ्चनपुरसम्म सडक बिस्तारको काम ६ बर्षमा पनि पुरा भएको छैन । निर्माण कम्पनीको ढिलासुस्तीले काम अलपत्र परेको हो ।
एसियन हाइवेको रुपमा बिस्तार भैरहेको यो सडकको काम अलपत्र हुँदा दुर्घटना मात्रै बढेको छैन, सडकछेउका बासिन्दा धुलो र हिलोले आजित बन्न पुगेका छन् । पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको कमला र सप्तरीको कञ्चनपुरसम्म सडकखण्ड ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
तर निर्माण थालिएको ६ वर्ष हुँदापनि काम सकिएको छैन । ८६ दशमलब ८३ किलोमिटर लामो सडक विस्तार कार्यको ठेक्का चाइना रेल्बे इन्जिनियरिङ्ग कम्पनी लिमिटेड र चेग्डु पी.आर चिनले सन् २०२० अक्टोबर २९ मा लिएका थिए ।
१५ अर्ब ६६ करोड रुपैयाँमा पाएको ठेक्का अनुसार २८ अक्टोबर, २०२३ मै चार लेनको सडक, पुल, कल्भर्ट, ओभरपास, फ्लाई ओभर र अन्डरपास बनाइसक्नुपर्ने थियो ।
आयोजनाको तेस्रो पटक थपिएको म्याद पनि अगामी जुन महिनाको ३० तारिखमा सकिँदैछ । पूरानो कालोपत्रे खनेर त्यतिकै छाड्दा सर्वसाधारणहरु सुख्खामा धुलो र वर्षामा हिलो खेप्न बाध्य भएका छन् । सडक वरिपरिको बजारमा व्यवसाय पनि खस्किएको छ ।








प्रतिक्रिया दिनुहोस्