काठमाडाैं । चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे तथा वन जंगल संरक्षणको माग गर्दै माईतीघरमा प्रदर्शन गरेकाे छ ।
वन जंगलको संरक्षण, दलित तथा भूमिहीन सुकुम्बासीहरूको भूमि अधिकार र प्राकृतिक स्रोतको अवैध दोहन रोक्न माग गर्दै अभियानकर्मीहरू सडकमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले चुरे क्षेत्रको विनाश रोक्नुपर्ने, सिर्सिया नदीको बढ्दो प्रदूषण तथा अतिक्रमण नियन्त्रण गर्नुपर्ने, तथा ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् । उनीहरूले अवैध रूपमा सञ्चालित क्रसर उद्योगहरूलाई कानुनी दायरामा ल्याई बन्द गर्न सरकारसँग जोडदार माग गरेका हुन् ।
जनताको सरकार जनताको लागि सिंहदरबारको ढोका किन बन्द ?, राष्ट्रको समस्या कहिले देख्छौ सरकार ? जस्ता प्रश्नहरू प्रदर्शनकारीका प्लेकार्डमा कोरिएका छन् । माईतीघरमा भेला भएका प्रदर्शनकारीहरूले हातमा विभिन्न प्लेकार्ड र सरकारलाई बुझाउन तयार पारिएका ध्यानाकर्षण पत्रहरू बोकेका थिए । अभियानका प्रतिनिधिहरूकाअनुसार, वर्षौंदेखि भूमि अधिकारबाट वञ्चित दलित र सुकुम्वासीहरूको समस्या समाधान गर्न सरकार उदासीन देखिएको छ ।
प्राकृतिक सम्पदाको दोहनले वातावरणीय संकट निम्त्याइरहेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराउन सिंहदरबारभित्र ज्ञापनपत्र बुझाउने प्रयास समेत गरेका छन् । प्रदर्शनका क्रममा अभियानकर्मीहरूले सडकमै बसेर आफ्ना मागहरू लेखिएका पत्रहरू प्रदर्शन गरेका हुन् । चुरे संरक्षण अभियानले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ ।








प्रतिक्रिया दिनुहोस्