Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


देउवाले भने -‘मेरो जीवन खुला पुस्तकका रूपमा रहेको छ, वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ’


715
Shares

काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस का पूर्वसभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध जारी भएको भनिएको पक्राउ पुर्जीबारे प्रतिक्रिया दिएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले आफ्नो परिवारमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको जानकारी सञ्चारमाध्यमबाट पाएको उल्लेख गरेका छन्। साथै, आफ्नो परिवारमाथि सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचार गरिएको दाबी गरेका छन्।

देउवाले सार्वजनिक पदमा रहँदा आफूहरूले कानुनअनुसार सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको पनि स्पष्ट पारेका छन्। उनले लोकतान्त्रिक शासन, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताप्रति आफू जीवनभर प्रतिबद्ध रहेको बताएका छन्।

आफ्नो जीवन खुला पुस्तकजस्तै रहेको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि आफ्नो नेतृत्वमा महत्वपूर्ण कानुनहरू लागू गरिएको स्मरण गरेका छन्। साथै, हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र उपचार प्रक्रिया जारी रहेको जानकारी पनि दिएका छन्।

देउवाले वास्तविकता समयक्रमसँगै सार्वजनिक हुने विश्वास व्यक्त गर्दै अतिरञ्जित सूचनाबाट भ्रमित नहुन सबैलाई आग्रह गरेका छन्।