Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


प्रधानमन्त्री कप क्रिकेटमा आर्मी क्लब र एपीएफ क्लबकाे शानदार जित

कर्णाली र सुदूरपश्चिम प्रदेश भने फराकिलाे अन्तरले पराजित

247
Shares

काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा साेमबार भएकाे खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब विजयी भएका छन् ।

वीरगञ्जमा साेमबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १ सय ३८ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे । आर्मीले दिएको २ सय ६९ रनको लक्ष्य पछ्याएको कर्णाली ४२ ओभर १ बलमा १ सय ३० रनमा अलआउट भयो । कर्णालीका विपिन शाहीले ४० रन बनाएका थिए। आर्मीका शाहब आलम र बसिर अहमदले ३/३ विकेट लिएका हुन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाएर २ सय ६८ रन बनायो । आर्मीका अर्जुन साउदले १२१ रन बनाएका थिए । कर्णालीका दिनेश अधिकारीले ४ विकेट लिएका छन् । यो जितसँगै आर्मी अपराजित रहँदै ६ खेलमा ११ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कर्णाली ७ खेलमा ३ अङ्कसहित नवौँ स्थानमा रहेकाे हाे।

त्यस्तै, जनकपुरमा साेमबारै भएको अर्काे खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ४५ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ । एपीएफले दिएको २ सय ६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४६ ओभर ३ बलमा २ सय १४ रनमा अलआउट भयो । सुदूरपश्चिमका अशोक धामीले ५० रन बनाएका थिए। एपीएफका युवराज खत्रीले ५ विकेट लिएका छन्।

यसअघि टस हारेर ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५९ रन बनाएकाे थियाे। एपीएफका सन्दीप जोराले ५५ रन बनाएका छन्। सुदूरपश्चिमका शेर मल्लले ३ विकेट लिए का हुन्। यो जितसँगै एपीएफ ७ खेलमा ७ अङ्कसहित तालिकाको छैठाैं स्थानमा छ । सुदूरपश्चिम ७ खेलमा १० अङ्कसहित दोस्रो स्थानमा रहेकाे आयाेजकले जनाएकाे हाे ।