Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


कपिलवस्तु घटना: गोली लागेका युवक जितेन्द्र यादवको उपचारकै क्रममा मृत्यु


3.2k
Shares

सुशील गैरे, कपिलवस्तु।

कपिलवस्तुमा केही दिनअघि भएको सामुदायिक तनावसँग जोडिएको घटनामा घाइते भएका एक युवकको उपचारका क्रममा निधन भएको छ।

महाराजगञ्ज नगरपालिका–२ बरगदामा गत चैत ७ गते दुई समुदायबीच भएको विवादका क्रममा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका २२ वर्षीय जितेन्द्र यादव (अरुण) को सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको हो। उनी महाराजगञ्ज–बुटहनिया निवासी थिए।

पेटमा गोली लागेपछि चैत ८ गतेदेखि चितवन मेडिकल कलेज मा उपचाररत यादवको अवस्था सुरुवातमा गम्भीर रहेको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रिपेन्द्रकुमार सिंह का अनुसार उनको शल्यक्रिया गरी केही दिन भेन्टिलेटरमा राखिएको थियो। त्यसपछि स्वास्थ्यमा सुधार देखिएपछि आइसीयूबाट सामान्य वार्डमा सारिएको थियो।

प्रहरीका अनुसार पछिल्ला दिनहरूमा अवस्था सामान्यतर्फ उन्मुख देखिए पनि सोमबार बिहान एक्कासी जटिलता देखिएपछि उनको मृत्यु भएको हो। चिकित्सकीय विवरण अनुसार उनको आन्द्रामा गम्भीर चोट लागेको थियो र त्यसैका कारण शल्यक्रिया गरिएको थियो।

उक्त घटनामा यादवसहित पाँच जना घाइते भएका थिए। अन्य चार जना भने भैरहवा मेडिकल कलेज मा उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ।

चैत ७ गते बरगदामा दुई समुदायबीच झडप हुँदा तौलिहवा–बहादुरगञ्ज सडक खण्ड क्षेत्र तनावग्रस्त बनेको थियो। त्यसक्रममा महाराजगञ्ज–६ जिगना चौराहामा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा गोली चलेको थियो, जहाँ यादव घाइते भएका थिए। घटनापछि क्षेत्रको अवस्था अहिले क्रमशः सामान्य बन्दै गएको सुरक्षा निकायले जनाएको छ।