Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


संस्कृति र सम्पदा जोगाउन पत्रकारले निगरानीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड


130
Shares

काठमाडाैं ।

संस्कृति तथा सम्पदा संरक्षण गर्न पत्रकारहरुले तथ्यमा आधारित रिपोर्टिङ गरी सचेतना फैलाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

नेवाः पत्रकार राष्ट्रिय दबूले काठमाडौं महानगरपालिकासंग सहकार्य गरी हनुमानढोका दरबार क्षेत्र अन्तर्गत विहीबार राजधानीमा आयोजना गरेको सम्पदा संरक्षणमा पत्रकारिताको भूमिका विषय विचार गोष्ठीका सहभागीहरुले सो कुरामा जोड दिएका हुन्।उनीहरुले सम्पदामा भइरहेको अतिक्रमण, ढिलासुस्ती तथा लापरवाही माथि निगरानी राख्दै सम्बन्धित निकायलाई जिम्मेवार बनाउन ‘वाचडग’ भूमिकालाई अझ सशक्त बनाउनुपर्नेमा पनि बताए।

सो अवसरमा काठमाडौँ महानगरपालिका प्रवक्ता एवं १७ का वडा अध्यक्ष नवीन मानन्धरले सम्पदा संरक्षण गर्न स्थानीय तह, सञ्चारमाध्यम र समुदायबीच सहकार्य आवश्यकता रहेको बताउनुभयो।काठमाडौँ उपत्यकाको मौलिक पहिचान जोगाउन सञ्चार क्षेत्रले अझ जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने प्रवक्ता मानन्धरको भनाई थियो।

गुठी संस्थानका पूर्व प्रशासक किरण शाक्यले गुठी प्रणाली सम्पदा संरक्षणको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकारहरुले यससँग सम्बन्धित विभिन्न विषयमा गहिराईमा पसेर तथ्यमा आधारित सामग्री पस्किनुपर्ने बताउनुभयो ।

संस्कृतिकर्मी जितेन्द्रविलास बज्राचार्यले संस्कृति, सम्पदा जोगाउन मातृभाषा भाषा मार्फत पत्रकारिता र डिजिटल माध्यमको प्रयोग महत्वपूर्ण रहेको बताउनुभयो।सांस्कृतिक सम्पदाको मौलिकता जोगाउन सञ्चारमाध्यमले सही व्याख्या र सन्दर्भ सहित सामग्री प्रकाशन गर्नुपर्नेमा उहाँको भनाई रहेको छ ।

सो कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समिर बलामीले नीतिगत सुधारका लागि बहस सिर्जना गर्ने, विज्ञ तथा सरोकारवालाको आवाज नीति निर्मातासम्म पु¥याउने र लोपोन्मुख संस्कृति जोगाउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रस्तुत विचारहरूमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेवाः पत्रकारहरूको भूमिका केवल समाचार सम्प्रेषणमा सीमित नभई स्थानीय पहिचान, भाषा र मौलिक ज्ञानको संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो। नेपालभाषाको लहना साप्ताहिकका प्रकाशक समेत रहेका अध्यक्ष श्रेष्ठले नेपाल भाषामार्फत लोपोन्मुख परम्परा, कथा, गुठी प्रणाली र संस्कारहरूको दस्तावेजीकरणका लागि मातृभाषाको पत्रकारिताको विशेष योगदान रहेको बताउनुभयो।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका निवर्तमान अध्यक्ष सुरजवीर बज्राचार्यले पत्रकारहरूले सम्पदा, भाषा र संस्कृतिसँग सम्बन्धित मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउँदै आएको चर्चा गर्नुभयो।संस्कृति क्षेत्रमा लामो समयदेखि रिपोर्टिङ गर्दै आएका वरिष्ठ पत्रकार विराजकाजी राजोपाध्यायले संस्कृति सम्पदाका विषयहरु रिपोटिङ गर्न त्यस सम्बन्धी अध्ययन, सन्तुलित प्रस्तुतिको विषयमा आफ्नो भनाई केन्द्रीत गर्नुभयो।

त्यसैगरी, दबूका उपाध्यक्ष सुनील महर्जन, महासचिव के.के मानन्धर र सचिव राजु नापितले पत्रकारिताको प्रवद्र्धन, नागरिक पत्रकारिता, तालिम, स्रोत साधनको उपलब्धता र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने जोड दिनुभयो।