Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


राम्ररी बोल्नुभन्दा कामबाटै आफूलाई प्रमाणित गर्छौंः रवि लामिछाने


182
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले पाएको जनमत सरकार चलाउन नभई व्यवस्था र कार्यशैली बदल्नका लागि भएको बताएका छन् ।

प्रतिनिधि सभाको पहिलो बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले रास्वपाले प्राप्त गरेको मत जनताको आशा र आक्रोशको मत भएको भन्दै जिम्मेवार भएर जनमतको भावनाअनुसार अघि बढ्ने प्रतिज्ञा गरे । जनताले परिवर्तनकै लागि रास्वपालाई रोजेको भन्दै उक्त मतादेशको कदर गर्दै जिम्मेवार भएर गुण तिर्ने प्रतिज्ञा पनि गरे । पार्टी र सरकारले बोलेर भन्दापनि काम गरेर जनतामाझ आफ्नो औचित्य प्रमाणित गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।

उनले भने ‘हामीले पाएको मत समर्थनको मत मात्र होइन परिवर्तनको मत हो । हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो । म गर्वका साथ भन्न सक्छु । हामीले बदल्न सुरु गरिसकेका छौँ । अब हामीले बोलेर मात्र हुँदैन । रास्वपाका हरेक माननीयहरूले कामबाटै पार्टी र सरकारलाई प्रमाणित गर्नुपर्छ । अब हामीले राम्ररी बोल्नुभन्दा पनि सरकारका कामहरू अझै राम्रोसँग बोल्नेछन् । ती बोल्न सुरु गरिसकेको कुरा पनि निवेदन गर्न चाहन्छु ।’

उनले सुशासनको सवालमा कुनैपनि सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।