एजेन्सी । टर्कीकाे दक्षिण–पश्चिमी प्रान्त मुग्लाको तटमा बुधबार अवैध आप्रवासी बोकेको एउटा रबरको डुङ्गा डुब्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
अन्य २१ जनाको जीवितै उद्धार गरिएको हाे। टर्कीकाे तटरक्षक बलले यस दुर्घटनाको पुष्टि गरेको छ । प्रशारक संस्था एनटिभीले बुधबार बोडरम जिल्लाको लोकप्रिय पर्यटकीय रिसोर्ट नजिकै उक्त डुङ्गा पल्टिएको जनाएकाे हाे । संकटको सूचना प्राप्त हुनेबित्तिकै टर्किए तटरक्षकले आपतकालीन उद्धार कार्य शुरु गर्न घटनास्थलमा धेरै डुङ्गा र विमानहरू परिचालन गरेको थियो । तटरक्षक बलकाअनुसार सुरक्षाकर्मीले बारम्बार दृश्य र श्रव्य चेतावनी दिँदा पनि उक्त रबरको डुङ्गा तीब्र गतिमा भागिरह्यो ।
रोकिने आदेशलाई बेवास्ता गर्दै अघि बढेको सो डुङ्गामा पानी पस्न थालेपछि खराब समुन्द्री अवस्था र प्रतिकूल मौसमका कारण अन्ततः डुबेको थियो । अहिले समुन्द्र र आकाश दुवै मार्गबाट व्यापक खोजी तथा उद्धार कार्य जारी छ । अधिकारीहरूले सम्भावित बेपत्ता व्यक्तिहरूको खोजीका लागि सो क्षेत्रमा गस्ती गरिरहेका छन् । ती आप्रवासीहरूको गन्तव्य कहाँ थियो भन्नेकुरा तत्काल स्पष्ट हुन सकेको छैन ।
युरोप, एशिया र मध्यपूर्वकोबीचमा रहेको टर्कीको भौगोलिक अवस्थितिका कारण यो युरोप जान चाहने आप्रवासीहरूका लागि प्रमुख ट्रान्जिट मार्ग बनेको छ । अधिकांश आप्रवासीहरूले तस्करहरूद्वारा सञ्चालित असुरक्षित र क्षमताभन्दा बढी मानिस भरिएका डुङ्गाहरूमार्फत एजियन सागर पार गर्दै नजिकैका ग्रीक टापुहरूसम्म पुग्न जोखिमपूर्ण यात्रा गर्ने गर्छन् ।








प्रतिक्रिया दिनुहोस्