काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा चलिरहेको अमेरिकी सैन्य अपरेसन निकै चाँडै समाप्त गर्ने घोषणा गर्नुभएको छ ।
ह्वाटहाउसको ओभल अफिसमा कार्यालयमा सञ्चारकर्मीसंग कुरा गर्दै ट्रम्पले अबको दुई देखि तीन साताभित्र अमेरिका इरानबाट फर्किसक्ने दाबी गर्नुभएको हो ।
अमेरिकाले आफ्नो काम लगभग पूरा गरिसकेको र अर्को करिब दुई हप्तामा अपरेसन सकेर सेना फिर्ता बोलाइने भन्दै उहाँले इरानबाट आफ्ना कम्पनीहरूलाई कुनै ठूलो खतरा नरहेको जिकीर पनि गर्नुभयो । इरानसँग परमाणु हतियार नरहेको र त्यस्ता हतियार प्रयोग गर्न नसक्ने भन्दै ट्रम्पले इरानका धेरैजसो पुराना नेताहरू मारिइसकेकाले अवस्था पहिलेभन्दा धेरै नियन्त्रणमा आएको पनि बताउनुभयो ।
इरानले भविष्यमा फेरि परमाणु हतियार बनाउने प्रयास गरेमा अमेरिकाले पुनः कडा कारबाही गर्ने चेतावनी पनि उहाँले दिनुभयो । विश्वब्यापी इन्धनको मूल्य वृद्धिबारे सोधिएको प्रश्नको जवाफमा ट्रम्पले अमेरिका इरानबाट बाहिर निस्केपछि मूल्य घट्ने बताउनुभयो ।
यता, चीन र पाकिस्तानले इरान युद्ध अन्त्यका लागि भन्दै पाँच बूँदे मस्यौदा अघि सारेका छन् । पाकिस्तानी विदेशमन्त्री चीन पुगेर गरेको छलफलपछि हर्मुज जलमार्ग खुला गर्नेलगायतका बूँदासहितको प्रस्ताव अघि सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।








प्रतिक्रिया दिनुहोस्