काठमाडाैं । नेपाली काँग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले निर्वाचनपछि संसदमा उपस्थिति न्युन भएपनि प्रभावकारी भुमिका निर्वाह गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ ।
सोमवार नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आयोजित कार्यक्रममा उहाँले पार्टीको इतिहास, आदर्श र जनताको हितलाई केन्द्रमा राखेर संसदमा आफ्नो भुमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो । उहाँले संविधान संशोधनको मुद्दा उठेकोले संसदमा प्रवेश गर्नसक्ने बताउनु भयो ।
उहाँले पार्टीका सांसदहरूलाई राष्ट्रियता, स्वाभिमान र संविधानका मौलिक अधिकारमा कुनै सम्झौता नगर्न आग्रह गर्नुभयो । संविधान संशोधनको विषय आफूहरुले पनि उठाएको भएपनि त्यसमा प्रगति हुन नसकेको उहाँको भनाई छ । उहाँले संविधान संशोधन जनताको हितलाई केन्द्रमा राखेर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले लोकतान्त्रिक आन्दोलनको विरासत बोकेको काँग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षा, कार्यान्वयन र नागरिक अधिकारको सुनिश्चिततामा दृढतापूर्वक उभिने स्पष्ट पार्नुभयो ।
संख्या कम भएपनि वैचारिक बल र ऐतिहासिक जिम्मेवारी काँग्रेसको ठूलो रहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो ‘हालै सम्पन्न निर्वाचनपछि संसदको जुन प्रकारको बनोट छ, त्यसमा हाम्रो जुन खालको उपस्थिति छ, त्यसमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पार्टीको तर्फबाट निर्वाचित हुनभएका सदस्यहरुको भुमिका प्रभावकारी रहनेछ, अनुकरणीय रहनेछ । पार्टीको ईतिहास, आर्दश, नेपाल राष्ट्र र नेपाली जनताको हितमा, रक्षामा तपाईहरुको प्रस्तुती, अभिव्यक्तिहरु संसदभित्र राष्ट्रिसभा, प्रतिनिधिसभा, संसदको संयुक्त बैठकमा पनि प्रखर रुपमा प्रश्तुत हुनेछन् । संख्याको हिसावले हामी कम भएपनि नेपालको लोकतान्त्रिक, प्रजातान्त्रिक आन्दोलनको इतिहासको सिंगो धरोहर बोकेर तपाईहरु संसदमा आफ्नो भुमिका निर्वाह गर्दै हुनुहुन्छ । कानून निर्माणको सन्दर्भमा, नेपाली जनताको हक र अधिकारको सन्र्दभमा हामीले वर्षौंको संघर्षबाट निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान र त्यो संविधानले उपलब्ध गराएका नेपाली नागरिकका अधिकारको उपयोग र उपभोग गर्ने कुरामा सुनिश्चित गर्ने भुमिकामा तपाईहरु प्रखर रुपमा प्रश्तुत हुनुहुनेछ । ती सबै भुमिका निर्वाह गर्ने क्रममा हामी संसदभन्दा बाहिर रहेकाहरुले पनि सहयोग गर्नेछौँ । संसदमा नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभा र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने साथीहरुमा दिगो एकता हुनेछ । पार्टीको आदर्श, सिद्धान्तलाई, जनताको हकहितलाई शिरमा राखेर तपाईहरु प्रतिष्पर्धामा पनि अब्बल हुनुहुनेछ, प्रश्तुतीमा पनि अब्बल हुनुहुनेछ, देश र जनताको पक्षमा कानून निर्माणमा होस्, सार्वजानिक महत्वको प्रश्ताव, छलफल र प्रश्तुतीमा होस् । संविधान संशोधनको विषय पनि प्रवेश गर्ने तयारीमा छ, हुन त हामीले पनि यो भन्दा अगाडीको सरकार निर्माण गर्दा संविधान संशोधनको मूल मुद्दा बनाएर अगाडी लैजाने सहमति गरेका थियौँ, तर त्यो दिशामा हामी अगाडी पुग्न सकेनौँ । अहिले पनि ती कुराहरु अगाडी आउनेछ, त्यसमा हामीले हाम्रो आदर्श, सिद्धान्त, हाम्रो मूल्य मान्यता, हाम्रो देशको राष्ट्रियता, हाम्रो स्वाभिमान र हाम्रो संविधानका मुलभुत अधिकारहरु जो नेपाली जनतालाई सार्वभौम बनाउने र अधिकारसम्पन्न बनाउने विषयमा केन्द्रित छन्, ती मुल विषयमा सम्झौता नगरिकन हामीले आजसम्मको अनुभवको आधारमा संविधान संशोधन प्रक्रिया अगाडी बढ्दा त्यतिवेला काँग्रेसको तर्फबाट संसदको बाहिर र भित्र संयुक्त रुपमा हामी तपाईहरुसंग रहनेछौँ । तपाईहरुले पार्टीको विचार, ईतिहास र आर्दशलाई केन्द्रमा राखेर, राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर आफ्नो सबै भुमिका निर्वाह गर्नुहुनेछ ।’
उहाँले सांसदहरुलाई जनताको पक्षमा दरिलोसाथ संसदमा प्रश्तुत हुन पनि निर्देशन दिनुभयो । संसदमा चाहिने आवश्यक ज्ञान र सहयोग दिन आफूहरु तयार रहेको पनि उहाँको भनाई छ । उहाँले राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका बीचमा एकता कायम राखेर अगाडी बढ्न पनि आग्रह गर्नुभयो ।








प्रतिक्रिया दिनुहोस्