Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


मुटुको धड्कन अधिक बढेकोपछि ओली अस्पतालमै, २४ घण्टा चिकित्सकको निगरानीमा


4.5k
Shares

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य समस्या देखिएपछि आज पनि अस्पतालमै राखेर उपचार गरिने भएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई उपचाररत रहेका ओलीको हिजो राति मुटुको धड्कन असामान्य रूपमा बढेकोपछि चिकित्सकहरुकाे थप निगरानी रहेका छन् । अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईका अनुसार ओलीलाई कम्तीमा २४ घण्टा चिकित्सकीय निगरानीमा राखिनेछ।

“उहाँ पहिलेदेखि नै मुटुसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो। हिजो राति अचानक मुटुको धड्कन बढेको पाइयो,” डा.सेढाईले भने, “हाल उहाँको स्वास्थ्य अवस्थालाई स्थिर राख्न आवश्यक उपचार भइरहेको छ र चिकित्सकहरूको निरन्तर निगरानीमा राखिएको छ।”

अस्पताल स्रोतका अनुसार ओलीको स्वास्थ्य अवस्था अहिले नियन्त्रणमा भए पनि पूर्ण रूपमा जोखिममुक्त नभएकाले सावधानी अपनाइएको छ। चिकित्सकहरूले नियमित परीक्षण र आवश्यक औषधीपचार जारी राखेका छन्।

ओलीको पित्तथैलीमा देखिएको पत्थरीको समस्या पनि बढ्दै गएको बताइएको छ। उक्त समस्याको उपचारबारे के गर्ने भन्ने विषयमा चिकित्सकहरूको टोलीबीच छलफल भइरहेको छ। आवश्यकता अनुसार शल्यक्रिया गर्ने वा अन्य वैकल्पिक उपचार अपनाउने विषयमा निर्णय लिइने अस्पतालले जनाएको छ।

राजनीतिक पृष्ठभूमिमा ओलीको अस्पताल भर्ना हुनु थप चासोको विषय बनेको छ। गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित छानबिन आयोगले दिएको सिफारिस कार्यान्वयनको क्रममा प्रहरीले ओलीलाई नियन्त्रणमा लिएको थियो। सोही क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको हो।

स्रोतका अनुसार आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा विभिन्न राजनीतिक तथा कानुनी प्रक्रियाहरु अघि बढाइएको छ। ओलीको स्वास्थ्य अवस्थाका कारण ती प्रक्रियाहरूमा केही ढिलाइ हुन सक्ने अनुमान गरिएको छ। एमालेका नेताहरूले ओलीको स्वास्थ्यप्रति चासो व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। पार्टीका एक नेताले भने, “उहाँ हाम्रो पार्टीका प्रमुख नेतृत्व हुनुहुन्छ, उहाँको स्वास्थ्य सुधार नै अहिलेको प्राथमिकता हो।”

अस्पताल प्रशासनले ओलीको स्वास्थ्य अवस्थाबारे आवश्यक अपडेट समय–समयमा सार्वजनिक गर्ने जनाएको छ। हाल उनी चिकित्सकहरूको निगरानीमा सुरक्षित रहेको बताइएको छ। यस घटनाले राजनीतिक वृत्तमा समेत तरंग ल्याएको छ भने सर्वसाधारणले पनि ओलीको स्वास्थ्य अवस्थाबारे चासोपूर्वक निगरानी गरिरहेका छन्।