काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध शनिबार काठमाडौंमा भएको विरोध प्रदर्शन तनावपूर्ण बनेको छ।
प्रदर्शनका क्रममा प्रहरी र एमाले कार्यकर्ताबीच विभिन्न स्थानमा झडप हुँदा सात जना प्रदर्शनकारी पक्राउ परेका छन् भने एक जना घाइते भएका छन्।
राजधानीका बबरमहल, नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा प्रदर्शनकारीहरू सडकमा उत्रिएपछि स्थिति केही समयका लागि तनावग्रस्त बनेको थियो। प्रदर्शनकारीहरूले सडकमा टायर बालेर अवरोध सिर्जना गरेका थिए भने ‘ओलीलाई निःशर्त रिहा गर’ भन्दै चर्का नाराबाजी गरेका थिए।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेपछि केही स्थानमा झडप भएको हो। स्थिति नियन्त्रणबाहिर जान नदिन प्रहरीले एक राउन्ड अश्रुग्याँससमेत प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार बबरमहल क्षेत्रबाट सात जना एमाले कार्यकर्तालाई पक्राउ गरिएको हो। पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झडपका क्रममा एक जना प्रदर्शनकारी घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको भए पनि उपचारपछि डिस्चार्ज गरिएको एसपी भट्टराईले जानकारी दिए।
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी आन्दोलन घोषणा गरेसँगै काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शनहरू भइरहेका छन्। शनिबारको प्रदर्शनले राजधानीको सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनमा समेत प्रभाव पारेको देखिएको छ।
प्रहरीले स्थिति नियन्त्रणमा रहेको दाबी गरे पनि एमालेले आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएकाले आगामी दिनमा थप प्रदर्शन र तनाव बढ्ने संकेत देखिएको छ।








प्रतिक्रिया दिनुहोस्