Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


जेन–जी आन्दोलनको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरोः कांग्रेस


364
Shares

काठमाडाैं । नेपाली काँग्रेसले जेन–जी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको टिप्पणी गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले जाँचबुझ आयोगको प्रतिवेदनले घटनाक्रमको पूर्ण चित्र प्रश्तुत गर्न नसकेको बताउनुभयो ।

प्रतिवेदनले २३ भदौको जेन–जी आन्दोलनबारे केही प्रकाश पार्ने प्रयास गरे पनि २४ गतेका घटनाहरूलाई स्पष्ट रूपमा समेट्न नसकेको बताउनुभयो । चालिसेले प्रतिवेदनको विस्तृत अध्ययन गर्न कानूनविद्, प्रशासनका जानकार, जेन–जी आन्दोलनका अभियन्ता तथा विज्ञहरू सम्मिलित समिति गठन गरिएको जानकारी समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जेन–जी आन्दोलनको जाँचबुझ आयोगको जुन प्रतिवेदन आएको छ यो प्रथम दृष्टिमै अपूर्ण देखिएको छ । अलि अधुरो देखियो । यसले पूर्णतः बोकेको देखिँदैन । २३ गतेको आन्दोलको बारेमा जति प्रकाश पार्ने कोसिश गरेको छ । २४ गतेको घटनालाई अलपत्र छोडेको देखियो । यद्यपि प्रतिवेदनलाई हामीले राम्ररी अध्ययन गर्न बाँकी छ । त्यो प्रतिवेदनलाई हामी सिरियस्ली हेर्छौँ । हामी प्रतिवेदनबारे धारणा बनाउनको लागि कानूनका ज्ञाता तथा प्रशासनमा दक्षता भएका व्यक्तिहरु, जेनजी आन्दोलनका अभियान्ताहरु र विज्ञहरुको समिति बनाएर यसको हामीले अध्ययन गर्छौँ । अध्ययन गरेर हामी जेनजी जाँचबुझ आयोग र मानव अधिकार आयोगको प्रतिवेदनबारे आफ्नो धारणा बनाउँछ ।’

उक्त समितिले अध्ययन गरिसकेपछि जेन–जी आन्दोलन जाँचबुझ आयोग र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदनबारे पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने उहाँको भनाइ छ ।