काठमाडाैं । काठमाडौं महानगरपालिका र त्रिभूवन विश्वविद्यालयको कानून संकायबीच कानूनको तर्जुमा, परिमार्जन र कार्यान्वयनमा सहकार्य गर्ने गरी समझदारी (एमओयु) भएको छ ।
काठमाडौं महानगरले कार्यान्वयन गरिरहेका कानूनहरुको परिमार्जन तथा कानून तर्जुमा गर्नुपर्ने क्षेत्रहरुको अध्ययन तथा सुझावका लागि दुई पक्षबीच एमओयु भएको हो ।
एमओयु कार्यक्रममा बोल्दै महानगरकी कार्यावाहक प्रमुख सुनिता डंगालले स्थानीय सरकारका कामकारबाहीलाई थप व्यवस्थित र कानूनसम्मत बनाउन यो सहकार्य गरिएको जानकारी दिनुभयो ।
उहाँले संविधान र स्थानीय सरकार सञ्चालन ऐनको परिधिभित्र रही निर्माण गरिएका कानूनहरूको प्रभावकारी कार्यान्वयन र विद्यमान कानूनमा रहेका त्रुटिहरू सच्याउन यस सम्झौता महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार काठमाडौं महानगरले हालसम्म १ सय ६० वटा कानून निर्माण गरी कार्यान्वयन भइरहेका छन् ।
उहाँले भन्नुभयो, ‘आज काठमाडौं महानगरपालिका र त्रिभूवन विश्वविद्यालयको कानून संकायबीच एमओयु गरेका छौँ । यसको उद्देश्य स्थानीय सरकार सञ्चालन ऐन र संविधानमा टेकेर हामीले विभिन्न कानूनहरु बनाएका छौँ । जसले गर्दा स्थानीय सरकारले गर्ने कामहरु कानूनसंगत र काम गर्ने लय सधैं एउटै होस् । हामीले हालसम्म १६० वटा कानूनहरु बनाइसकेका छौँ । ती कानूनहरु परिमार्जन गर्न तथा थप कानून निर्माणका लागि पनि यस एमओयुले कानून तर्जुमा गर्नुपर्ने क्षेत्र पनि औँल्याउनेछ भन्ने विश्वास लिएका छौँ । र हामीसँग भएका विद्यमान कानूनहरुको विश्लेषण गर्न पनि जरुरी छ । यस एमओयुले कानूनमा रहेका त्रुटी सच्याउँदै कानूनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने विश्वास पनि लिएका छौँ ।’
सम्झौताअनुसार त्रिभूवन विश्वविद्यालयको कानून संकायले काठमाडौं महानगरपालिकाका विद्यमान ऐन, नियम र कार्यविधिहरूको कानूनी परीक्षण गर्दै आवश्यकताअनुसार नयाँ कानून निर्माणका लागि प्राविधिक गर्नेछ ।








प्रतिक्रिया दिनुहोस्