Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


मुन्धुमी शक्ति केन्द्र मेन्छ्यायेम डाँडा (भिडियाे रिपोर्ट)


13
Shares

प्रकाश लिम्बु, तेह्रथुम ।
तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको सीमावर्ती क्षेत्रमा अवस्थित मेन्छ्यायेम डाँडा लिम्बु समुदायका लागि अत्यन्तै पवित्र मानिने मुन्धुमी स्थल हो ।

तर संरक्षणको अभावमा लिम्बु समुदायको पहिचान, परम्परा र मुन्धुमी सभ्यताको प्रतीकका रूपमा रहेको मेन्छ्यायेम डाँडा पर्यटनको आयाम बन्न सकेको छैन ।

समुद्री सतहबाट ३ हजार १४१ मिटरको उचाइमा रहेको यो डाँडा सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको थाक्थुङ लिम्बु जातिको पहिचान हो ।

लिम्बु भाषामा ‘मेन्छ्या’ भनेको ‘तरुनी’ र ‘येप’ भनेको ‘उभिएको’ भन्ने अर्थ हुन्छ । यही ‘मेन्छ्यायेप’ शब्द कालान्तरमा अप्रभंस भएर ‘मेन्छ्यायेम’ बनेको किंवदन्ती छ । टाढाबाट हेर्दा युवती उभिए झैँ देखिने भएकाले मेन्छ्यायेम डाँडाले त्यही आख्यानलाई झल्काउँछ । लिम्बु समुदायका पुजारी फेदाङमाहरूले विभिन्न कर्मकाण्ड तथा पुजाआजाका क्रममा यो डाँडालाई अपरिहार्य रुपमा स्मरण गर्नुपर्ने हुन्छ । फेदाङमा सिरिहाङ लिम्बुको भनाइअनुसार मेन्छ्यायेम डाँडा मुन्धुमसँग प्रत्यक्ष जोडिएको भएर नै फेदाङमाहरूको मन्त्र–मुहुर्तमा यो पवित्र स्थलबाट शक्ति ग्रहण गर्छन् ।