जीवन खड्का, रुकुम पश्चिम ।
जाजरकोटको रामीडाँडा केन्द्र भएर भूकम्प गएको २९ महिना वितिसक्यो । भूकम्प गएपछि भेरी नदीमा धेरै पानी बगिसक्यो तर भूकम्पले ठूलो क्षति पुगेको रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका बासिन्दा भने अहिले पनि कष्टकर जीवन विताउन बाध्य छन् ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–४, गोलचौर बस्तीका भूकम्प पिडितहरु २९ महिनापछि अस्थायी टहरामै बस्न बाध्य छन् । २०८० साल कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्पले रामिडाँडा नजिकै रहेको गोलचौर बस्तीमा ठूलो जनधनको क्षति पु¥यायो ।
केन्द्रविन्दु जाजरकोटमा भए पनि यसको गहिरो प्रभाव छिमेकी जिल्ला रुकुम पश्चिममा पनि देखिएको थियो । रुकुम पश्चिममा मात्रै ५० भन्दा बढीले ज्यान गुमाएका थिए भने सयौँ घाइते भएका थिए । करिब १६ हजारभन्दा बढी निजी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् ।
भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये सानीभेरी गाउँपालिका पनि एक हो । यहाँको वडा नम्बर ४, गोलचौर बस्ती अझै पीडामा बाँचिरहेको छ । अधिकांश घरहरू ढुङ्गा र माटोले बनेका कच्ची संरचना भएकाले भूकम्पको धक्का सहन सकेनन् र पूरै भत्किए ।
अहिले पनि यहाँका धेरै परिवारहरू जस्तापाताले बनाइएका अस्थायी टहरामै बसिरहेका छन् । दुई वर्षमा दुई वटा वर्षा र दुई वटा हिउँद टहरामै बितिसकेको छ । गर्मीमा अत्यधिक तातो र जाडोमा कठ्याङ्ग्रिने चिसोका कारण बालबालिका र वृद्धवृद्धाहरू बिरामी पर्ने समस्या अझै उस्तै छ ।








प्रतिक्रिया दिनुहोस्