Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


लागु औषधसहित पाँच जना पक्राउ, खैरो हेरोइन र चरेस बरामद


442
Shares

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले दुई फरक घटनामा खैरो हेरोइन र चरेससहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ।

ब्युरोका अनुसार लागूऔषध कारोबारमा संलग्न सञ्जालविरुद्ध सञ्चालन गरिएको विशेष अपरेशनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पहिलो घटनामा काठमाडौँ उपत्यकाका विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी लागूऔषध बिक्री भइरहेको सूचनाका आधारमा ललितपुरबाट ३८ वर्षीया कल्पना तामाङ पक्राउ परेकी छन्। मकवानपुरको थाहा नगरपालिका–११ घर भएकी तामाङको साथबाट २ केजी ३०० ग्राम चरेस र डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, अर्को घटनामा भारतबाट खैरो हेरोइन ल्याएर काठमाडौँमा बिक्री वितरण गर्दै आएको सूचनापछि खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१५ कारखाना चोकबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३१ वर्षीय विशाल श्रेष्ठ, ३९ वर्षीय अर्जुन थापा र काभ्रेका ३० वर्षीय सागर तामाङ रहेका छन्। उनीहरूको साथबाट ३७ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद भएको प्रहरीले जनाएको छ।

यसै घटनाको थप अनुसन्धानका क्रममा भारतको बिहार राज्यबाट लागूऔषध आपूर्ति गर्ने मुख्य व्यक्तिका रूपमा चिनिएका २५ वर्षीय विपुल बर्मालाई पनि पक्राउ गरिएको छ। उनलाई १०० ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।