Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


रारा ताल हिउँले ढपक्कै, कृषक भने खुसी (तस्वीरसहित)


195
Shares

वीरबहादुर बम,मुगु ।
कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । बिहबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिए जस्तो सेताम्मे भएको छ ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार शुक्रबार रातिदेखि परेको हिउँ राराको हुटु, मिलीचौर आसपासमा एक फिटसम्म हिउँ जमेको छ । तालसँगै वरपरको वन सेताम्मे बनेको छ ।  सुर्खेतबाट रारा घुम्न आएका आन्तरिक पर्यटक बासुदेव देवकोटाका अनुसार रारामा हिउँ पर्दा स्वदेशी तथा विदेशी पर्यटकहरू हिउँ खेलेर रमाएका छन् ।

रारा साच्चै स्वर्गको एक टुक्राजस्तै भएको महसुस लागेको उहाँले बताउनुभयो ।  रारामा यो वर्षको दोस्रो हिमपात रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त कार्यालय प्रमुख ऋषिकेश यादवले बताउनुभयो । उहाँका अनुसार करिब ५ इन्च हिउँ जमेको छ । हिउँ पर्नेक्रम अझै जारी छ ।

गएको पुस महिनामा पनि रारामा २ इन्च हिउँ परेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार फागुन महिनाको मसान्तसम्म दस हजार आन्तरिक र विदेशी पर्यटक रारामा घुम्न आएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।  चैतको महिनामा हिमपात हुँदा जिल्लामा चिसोले स्थानीय जनजीवन भने प्रभावित भएको छ । रारा तालभन्दा एक घण्टा माथिको मुर्मा गाउँमा भने दुई फिट हिउँ जमेको छ ।

यो ठाउँ समुद्री सतहदेखि ३ हजार २ सय मिटरको उचाइमा पर्दछ ।  हिउँ परेपछि हिउँदे बाली गुच्छे च्याउ ,यार्सागुम्बा र जडिबुटि सप्रने भएकाले जिल्लाका सबै कृषकहरू खुसी भएका छन् । गाई बस्तु चराउन, घाँसदाउरा ल्याउन कठिनाइ भएको छायानाथ रारा नगरपालिका–८ का स्थानीय हरिबहादुर रोकायाले बताउनुभयो ।