काठमाडाैं । अर्थमन्त्री रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा वन क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै यसलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
संघीय संसद भवनको प्राङ्गणमा शुक्रबार वृक्षारोपण कार्यक्रममा उहाँले वन क्षेत्रलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिनुभएको हो । मन्त्री खनालले मन्त्रालयमा हुँदा वन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्याउन सक्ने योगदानकाे बारेमा नजिकबाट बुझ्ने अवसर पाएको बताउनुभयो । वन क्षेत्रको योगदानलाई अगाडि बढाउन सरकारले आधा दर्जन भन्दा बढी महत्वपूर्ण कदमहरू चालिसकेको जानकारी दिनुभएकाे छ।
नेपालको पर्यटन क्षेत्रबाट हुने आम्दानीको ठूलो हिस्सा वन क्षेत्रकै कारण प्राप्त हुने मन्त्री खनालको भनाइ थियाे । नेपालका ट्रेकिङ रुटहरूमा विदेशी पर्यटकहरू जानुको मुख्य कारण पनि यहाँको वन र प्राकृतिक सौन्दर्य नै रहेको उहाँले उल्लेख गर्नुभएकाे छ। नेपाललाई विश्वमा चिनाउन ‘बायोस्फेयर रिजर्भ’ घोषणा गर्न सकिने थुप्रै क्षेत्रहरू रहेको र यस विषयमा वन मन्त्रालयका अधिकारीहरूसँग छलफल भइरहेको समेत उहाँले बताउनुभयो।
मन्त्री खनालले वनको क्षेत्रफल बढेकोमा मात्र खुशी नभई, त्यस अनुरुप मुलुकको अर्थतन्त्रमा वनलाई क्षति नपुग्ने गरी कसरी योगदान पुर्याउन सकिन्छ भन्ने विषयमा आगामी कार्यक्रम र नीतिहरू निर्देशित हुनुपर्नेमा जोड दिनुभएकाे छ ।








प्रतिक्रिया दिनुहोस्