काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार स्वेच्छाचारी बन्दै गएको टिप्पणी गर्नुभएको छ ।
पार्टीको राष्ट्रिय भेलाको शुभारम्भ कार्यक्रममा उहाँले देशमा असंवैधानिक र गैरकानूनी गतिविधि बढेको बताउनुभएको हो । उहाँले विगतमा हिंसात्मक, अलोकतान्त्रिक तथा आतंककारी गतिविधिमार्फत सत्ता उलटफेर गर्ने, आगजनी, लुटपाट र तोडफोडबाट लोकतान्त्रिक तथा संवैधानिक व्यवस्था कमजोर बनाउने काम भएको आरोप लगाउनुभयो ।
त्यस्ता गतिविधिलाई वैधानिकता दिन निर्वाचनको मञ्चन गरिएको उहाँको दाबी छ । उहाँले हाल भय र त्रासको वातावरणको सरकार चलिरहेको बताउनुभयो । सरकार दमनकारी र प्रतिशोधी व्यवहारसहित फासिवादतर्फ उन्मुख भएको उहाँको आरोप छ ।
आर्थिक अवस्था निरन्तर खस्किँदै गएको उल्लेख गर्दै उहाँले सरकारसँग ठूलो रकम थन्किएर बसेपनि पीडित जनताले राहत समेत पाउन नसकेको बताउनुभयो । सरकार जनताप्रति उत्तरदायी नभएको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो, ‘अहिले देश राजनीतिक रुपमा एउटा आतंकको छायामुनी, भय र त्रासको वातावरण मुनि, असंवैधानिक, गैरकानूनी कृयाकलापहरुको पेलाईमा स्वेच्छाचारी शासनको अन्तरगत देश चलिरहेको छ । फासिवाद तर्फ दमनकारी प्रतिशोधी व्यवहार अगाडी बढिरहेको छ । आर्थिक हिसावले देश लगातार अधोगतितर्फ गइरहेको छ । सामाजिक हिसावले सामाजिक मूल्य मान्यता खस्कीरहेका छन् । समाज अत्यन्तै उल्टो बाटोतिर धकेलिँदै गएको छ । सांस्कृतिक हिसाबले हाम्रो भाषा माथि, हाम्रो संस्कृति माथि, हाम्रो सभ्यता माथि चर्को हमला भईरहेको छ । जनताप्रति अनुत्तरदायी सरकार खर्बौ पैसा जम्मा भएको छ । त्यो खर्बौ पैसा थानको लागेर बसेको छ । पीडितहरु दुःखमा पिल्सीरहेका छन् । त्यो पैसाको पनि प्रयोग भएको छैन । यति समय भैसक्यो केही पनि भएको छैन । केही गर्न सकिन्थ्यो, सरकार परिचालन हुँदा, सरकारले काम गर्दा गर्न सकिन्थ्यो । केही पनि भएको छैन । अथवा जनताप्रति उत्तरदायित्व छैन । शिक्षा बिग्रिदो छ । स्वास्थ्य स्थितिमा सुधार भइरहेको छैन । अस्पतालबाट बाहिर निकालेर सडकमा प्रसब वेदना सहँदै शिशुलाई जन्म दिनुपर्ने अवस्था मा महिलाहरु गुज्रिनु परेको छ । अर्थात वर्णन गरेर साध्य छैन । एउटा पक्षमा होइन, सर्वत्र पक्षमा ।’
उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था पनि कमजोर बन्दै गएको बताउनुभयो । अस्पतालबाट उपचार नपाएर सडकमा प्रसूति हुनुपर्ने अवस्था कायम रहनु स्वास्थ्य सेवाको गम्भीर कमजोरी भएको उहाँको भनाइ छ । नेपाली भाषा, संस्कृति र सभ्यतामाथि समेत आक्रमण भइरहेको उहाँको दाबी छ ।









प्रतिक्रिया दिनुहोस्