प्रकाश नेपाल, इलाम । इलामको रोङ गाउँपालिका–३ कुट्टिडाँडामा रहेको सानो पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन–चाँदीलाई पारदर्शी ढंगले व्यवस्थापन गर्न पगालेर एक ढिक्का बनाइएको छ । गाउँपालिकाले सरोकारवालाको उपस्थितिमा जम्मा भएको सुन–चाँदी पगालेर सुरक्षित रूपमा राख्ने प्रक्रिया अघि बढाएको हो ।
रोङ गाउँपालिकाले २०७९ सालमा “पाथीभरा मन्दिर संरक्षण तथा व्यवस्थापन ऐन” जारी गर्दै मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याएको थियो । त्यसपछि मन्दिरको संरक्षण, व्यवस्थापन तथा विकासका लागि पाथीभरा विकास समिति गठन गरिएको छ । समितिले जिम्मेवारी सम्हालेपछि मन्दिरमा दाताबाट प्राप्त भेटीलाई व्यवस्थित ढंगले अभिलेख राख्ने र सुरक्षित गर्ने कार्य सुरु गरिएको हो ।
गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोका अनुसार मन्दिरमा चढाइएको सुन–चाँदीलाई पारदर्शी बनाउन विभिन्न सरोकारवाला निकायको रोहवरमा पगालेर एक ढिक्का बनाइएको हो । यस प्रक्रियामा गाउँपालिकाका जनप्रतिनिधि, नापतौल विभाग, सुन–चाँदी व्यवसायी संघ, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, प्रहरी, पाथीभरा विकास समिति तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
अध्यक्ष स्याङबोले मन्दिरमा आएको भेटीलाई व्यवस्थित र पारदर्शी रूपमा राख्न यस्तो प्रक्रिया अपनाइएको बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्